ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं : एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ। 

गत भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनका क्रममा भएको मानवीय क्षतिको घटनामा जाँचबुझ आयोगले दोषी ठहर गरेपछि उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो।

शनिबार सार्वजनिक बिदा परेकाले दुवै नेतालाई आइतबार कार्यालय समयमा म्याद थपका लागि अदालत लैजान लागिएको प्रहरीले जनाएको छ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै उनीहरू पक्राउ परेका हुन्। 

आयोगले जेनजी आन्दोलनका क्रममा भएको भनिएको लापरबाही र हेलचेक्र्याइँका कारण मानिसहरूको ज्यान गएको निष्कर्ष निकाल्दै तत्कालीन सरकार प्रमुख ओली र गृहमन्त्री लेखकमाथि अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो।

उक्त प्रतिवेदनमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई समेत दोषी किटान गरिएको छ। आयोगले दोषीहरूलाई १० वर्षसम्म कैद सजाय हुन सक्ने गरी कानुनी कारबाहीको सिफारिस गरेको छ।

शनिबार बिहान भक्तपुरस्थित आ-आफ्नै निवासबाट पक्राउ परेकामध्ये पूर्वप्रधानमन्त्री ओलीलाई स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ। चिकित्सकको निगरानीमा रहेका ओलीलाई अस्पतालबाटै अदालत लैजाने तयारी छ। अर्का नेता रमेश लेखकलाई भने महाराजगन्जस्थित प्रहरीको दुई नम्बर गणमा हिरासतमा राखिएको छ।

प्रहरीले अनुसन्धानका लागि अधिकतम २४ दिनसम्म हिरासतमा राख्न सक्ने कानुनी प्रावधानअनुसार आइतबार म्याद थपको अनुमति माग्नेछ। अर्कोतर्फ, पक्राउ परेका नेताहरूका तर्फबाट ठूलो सङ्ख्यामा कानुन व्यवसायीहरूले बहस गर्ने तयारी गरेका छन्। 

चैत १५, २०८२ आइतबार ०७:२८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।