पक्राउ परेका ओलीको स्वास्थ्य अवस्था सामान्य

पक्राउ परेका ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरी उपचाररत रहेका उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए। 

“उहाँको आज स्वास्थ्य परीक्षण गरियो। परीक्षण गरिएका कुरा सामान्य नै रहेको पाइयो। बिहान भर्ना हुँदा मुटुको धड्कन बढे पनि हाल ठिक भएको छ। मिर्गौला पनि ठिक रहेको छ”, उनले भने।

अस्पतालका प्रवक्ता डा सेढाईंले ओलीको पित्तथैलीमा पत्थरी देखिएकाले आज अस्पतालमा नै राखेर उपचार गरिने बताए। ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेर उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको हो।

उनलाई गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

चैत १४, २०८२ शनिबार २१:२९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।