राजनीतिक पूर्वाग्रह राखेर द्वन्द्व सिर्जना हुने काम नगर्न सरकारलाई नेकपाको आग्रह

राजनीतिक पूर्वाग्रह राखेर द्वन्द्व सिर्जना हुने काम नगर्न सरकारलाई नेकपाको आग्रह

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक पक्राउ परेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

नवनियुक्त प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित 'कार्की आयोग' को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही प्रतिवेदन कार्यान्वयनको सिलसिलामा नेताद्वय पक्राउ परेपछि नेकपाका केन्द्रीय कार्यालय प्रमुख सचिव गणेशमान पुनले शनिबार विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, "सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट भाद्र २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।"

नेकपाले कुनै पनि कानुनी प्रक्रिया अगाडि बढाउँदा पूर्वाग्रहमुक्त हुनुपर्ने र विधिको शासन उल्लंघन हुन नहुने बताएको छ। विज्ञप्तिमा भनिएको छ, "यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ।"

नेकपाले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएकोमा बधाई समेत ज्ञापन गरेको छ।

चैत १४, २०८२ शनिबार २१:१३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।