ओली-लेखक पक्राउको विषयमा कांग्रेस विभाजित, देउवा पक्षले प्रतिवादको निर्णय गर्दा संस्थापन पक्ष संयमित
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ प्रकरणलाई लिएर नेपाली कांग्रेसका विभाजित धारणा सार्वजनिक भएका छन्।
'आधिकारिकता'को विवादमा फसेको कांग्रेसका दुवै पक्षले शनिबार छुट्टाछुट्टै बैठक बसेर एउटै घटनामा फरक-फरक धारणा सार्वजनिक गरे। पूर्व सभापति शेरबहादुर देउवा पक्षले उनीहरूको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ र ‘असंवैधानिक कदम’ भन्दै प्रतिवाद गरिने भनेको छ। सरकारको कदमको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
बैठकपछि देउवा पक्षका नेता एवं पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक विज्ञप्ति जारी गरेर पक्राउ परेका दुवै नेतालाई ‘अवैध हिरासत’मा राखिएको दाबी गर्दै तत्काल रिहाइको माग गरे। भदौ २३ र २४ को घटनामा गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई ‘बदनियतपूर्ण’ भन्दै निष्पक्षतामाथि प्रश्न उठाएको छ। देउवा पक्ष ओली-लेखक पक्राउको घटनामा आक्रामक देखिएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ। साथै आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न देश भरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ।” खड्काको यस भाषाले कांग्रेस अब सडक संघर्षमा जाने र एमालेसँग राजनीतिक मोर्चाबन्दी गर्ने संकेत दिएको छ।
यता संस्थापन पक्ष भने उक्त घटनामा सन्तुलित र संयमित ढंगले प्रस्तुत हुन खोजेको देखिन्छ। पार्टी प्रवक्ता देवराज चालिसेद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा सरकारले राजनीतिक पूर्वाग्रह राखेर 'सेलेक्टिभ' व्यवहार गरेको आरोप लगाइएको छ। आयोगको प्रतिवेदन विधिसम्मत ढंगले सार्वजनिक नगरेको र भदौ २४ को विध्वंसकारी घटनालाई नजरअन्दाज गरी प्रतिवेदनलाई एकपक्षीय बनाइएको उल्लेख गरेको छ।
देउवा पक्षले पक्राउलाई सिधै ‘अवैध’, ‘प्रतिशोध’ र प्रतिवाद गर्ने भनिरहँदा संस्थापन पक्षले सरकारले सुरक्षा संयन्त्रका हकमा थप अध्ययन समिति गठन गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गर्नुलाई ‘नियतमा खोट’ र ‘अन्यायपूर्ण’ भनेको छ। तर, सरकारको उक्त कदमको विरोधमा सडक संघर्षको कुरा गरेको छैन। यद्यपि सरकारको अपरिपक्व र हतारोपूर्ण निर्णयले देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्ने चेतावनी दिँदै सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ।
चैत १४, २०८२ शनिबार २०:२७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।