देउवा पक्षले भन्यो : 'ओली-लेखकको पक्राउ 'असंवैधानिक कदम', राजनीतिक प्रतिशोधको प्रतिवाद गर्छौं'

देउवा पक्षले भन्यो : 'ओली-लेखकको पक्राउ 'असंवैधानिक कदम', राजनीतिक प्रतिशोधको प्रतिवाद गर्छौं'

काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पार्टीका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक र एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनालाई ‘राजनीतिक प्रतिशोध’ र ‘असंवैधानिक’ कदम ठहर गरेको छ।

शनिबार ठमेलस्थित होटल रमादामा बसेको कांग्रेस नेताहरूको बैठकले सरकारको उक्त कदमको संवैधानिक, कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो। बैठकपछि कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक विज्ञप्ति जारी गरेर पक्राउ परेका दुवै नेतालाई ‘अवैध हिरासत’मा राखिएको दाबी गर्दै तत्काल रिहाइको माग गरे।

कांग्रेसले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई आधार बनाएर गरिएको पक्राउ बदनियतपूर्ण रहेको जनाएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार आयोगको प्रतिवेदनको पृष्ठ ७२१ मा ‘अनुसन्धान, तहकिकात र अभियोजन गर्न गराउन’ सिफारिस गरिएको भए पनि सरकारले कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी सिधै पक्राउ गरेको छ। यसलाई कांग्रेसले ‘कानुनी राज्यको बर्खिलाप’ र ‘राजनीतिक पूर्वाग्रहबाट प्रेरित’ कदम भनेको छ।

कांग्रेसले आयोगको निष्पक्षतामाथि पनि प्रश्न उठाएको छ। आयोगको कार्यादेश अनुसार भदौ २३ र २४ गते दुवै दिनका घटनाको छानबिन गर्नुपर्नेमा प्रतिवेदनले भदौ २४ गते भएको मानवीय क्षति, सरकारी संरचनाको विनाश र निजी सम्पत्तिको नोक्सानीबारे मौन बसेको कांग्रेसको आरोप छ।

“आयोगको कार्यादेश बमोजिम भाद्र २३ र २४ गते दुवै दिनको घटनाको छानबिन गर्नु पर्नेमा भाद्र २४ गतेको घटनाबाट भएको मानवीय क्षति, सरकारी संरचनाको क्षति, राजनीतिक दलका कार्यालयहरू र व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्ति माथि भएको नोक्सानी र संलग्न व्यक्तिहरूबारे बिल्कुल मौन रहनुबाट पनि यो प्रतिवेदन पक्षपातपूर्ण भएको प्रष्ट छ,” विज्ञप्तिमा भनिएको छ।

सरकार गठन लगत्तै प्रतिशोधपूर्ण ढंगले अघि बढेको भन्दै कांग्रेसले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हटेको निष्कर्ष निकालेको छ। खड्काले आगामी दिनमा आइपर्ने जुनसुकै परिस्थितिको सामना गर्न देशभरका पार्टी नेता तथा कार्यकर्ताहरूलाई तयारी अवस्थामा रहन अपिल गरेका छन्।

विज्ञप्तिको अन्त्यमा भनिएको छ, “यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ। साथै आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न देश भरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ।”

चैत १४, २०८२ शनिबार १९:२३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।