ओलीको पक्राउविरुद्ध एमाले आक्रामक भएपछि गृह मन्त्रालयमा आकस्मिक बैठक

ओलीको पक्राउविरुद्ध एमाले आक्रामक भएपछि गृह मन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं : मुलुकको पछिल्लो सुरक्षा अवस्था र उत्पन्न परिस्थितिबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङले बोलाएपछि दुवै प्रहरी संगठनका प्रमुखहरू सिंहदरबार पुगेका छन्।

गृह मन्त्रालयमा जारी छलफलमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्याल सहभागी छन्। 

उनीहरूसँगै नेपाल प्रहरीका कार्य विभाग प्रमुख एआईजी उमाप्रसाद चतुरवेदी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीको कार्य विभाग प्रमुख एआईजी गणेश ठाडा मगर पनि छलफलमा उपस्थित भएका छन्।

प्रहरीका अनुसार छलफल पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउपछि उत्पन्न सुरक्षा चुनौतीमा केन्द्रित रहेको छ।

शीर्ष नेताहरूको पक्राउलाई लिएर एमालेले राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सडक प्रदर्शन सुरु गरेपछि उत्पन्न हुन सक्ने सम्भावित मुठभेड र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले सुरक्षा प्रमुखहरूसँग जानकारी लिँदैछन्। 

उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउने र कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्ने विषयमा छलफल चलिरहेको बताइएको छ। एमालेले सरकारको कदमको विरोधमा काठमाडौंसहित देशभरका अधिकांश जिल्लामा विरोध प्रदर्शन गरेको थियो।

एमालेले प्रदर्शनलाई थप आक्रामक बनाउने उद्घोष गरेको छ। एमाले सचिवालय बैठकले राजनीतिक तथा कानुनी लडाईं लड्ने निर्णय गरिसकेको छ। 

चैत १४, २०८२ शनिबार १८:५९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।