जाँचबुझ आयोगका अध्यक्ष कार्कीको सुरक्षामा कडाइ

जाँचबुझ आयोगका अध्यक्ष कार्कीको सुरक्षामा कडाइ

काठमाडौं : सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको सुरक्षा व्यवस्था कडा पारेको छ। 

आयोगको सिफारिस कार्यान्वयनका क्रममा शनिबार प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उत्पन्न हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सरकारले सुरक्षा तैनाथी बढाएको हो।

कार्कीको निवासमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षा जोखिमको विश्लेषण गर्दै सरकारले कार्कीलाई सुरक्षित स्थानमा राख्ने तयारी गरेको बताइएको छ। आयोगको सिफारिसमा शीर्ष नेताहरू पक्राउ परेपछि त्यसको विरोधमा प्रदर्शनमा उत्रिएका एमालेका नेता तथा कार्यकर्ताहरूले कार्कीविरुद्ध अभिव्यक्ति दिएपछि सुरक्षा चुनौती थपिएको प्रहरीको बुझाइ छ।

ओली र लेखकको पक्राउको विरोधमा एमालेका कार्यकर्ताहरूले शनिबार प्रदर्शन गरेको कारण काठमाडौंका माइतीघर, बबरमहल र सिंहदरबार आसपासका क्षेत्र तनावग्रस्त बनेको थियो। सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न थालेलगत्तै एमालेले देशका विभिन्न सहरमा विरोध प्रदर्शन गरिरहेको छ।

चैत १४, २०८२ शनिबार २०:५०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।