भदौ २४ पछि अशान्त भो बबरमहल : एमाले कार्यकर्ता र प्रहरीबीच झडप र घम्साघम्सी

भदौ २४ पछि अशान्त भो बबरमहल : एमाले कार्यकर्ता र प्रहरीबीच झडप र घम्साघम्सी

काठमाडौं : भदौ २४ को विध्वंससँगै शान्त बनेको काठमाडौंको बबरमहल क्षेत्र शनिवार पुन अशान्त बन्यो। भदौ आन्दोलनको बलमा भएको निर्वाचनबाट झन्डै दुई तिहाइको जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बने लगत्तै सडक अशान्त बनेको हो।

बबरमहल क्षेत्रसडक अशान्त बन्नुको कारण बन्यो एमाले अध्यक्ष केपी शर्मा ओली अनि नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउ। भदौको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयको निर्देशनमा  शनिवार प्रहरीले ओली र लेखकलाई उनीहरूको घरबाटै पक्राउ गरेको थियो।

पक्राउपछि ओली स्वास्थ्य उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् भने तत्कालीन गृहमन्त्री समेत रहेका लेखक भने प्रहरीको २ नम्बर गणमा छन्। आयोगले भदौ २३ को घटनामा ओली र लेखकसहितले लापरबाही गर्दा १९ जनाको ज्यान गएको भन्दै कार्वाहीको सिफारिस गरेको थियो।

सिंहदरबारको दक्षीण गेटमा सुरक्षाकर्मी र प्रदर्शनकारीको घम्साघम्सी। तस्बिर : दिपेश श्रेष्ठकार्वाहीको सिफारिसमा ओली र लेखकसँगै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की, तत्कालीन गृहसचिव र तत्कालीन काठमाडौंका सिडियोसहितमाथि कार्वाहीको सिफारिस गरेको थियो।

सिंहदरबारको दक्षीण गेट अगाडि प्रदर्शनकारी लखेट्दै सुरक्षाकर्मी। तस्बिर : दिपेश श्रेष्ठतर सुरक्षा संयन्त्रका सदस्यहरूको हकमा समिति बनाएर अध्ययन गरेपछि मात्रै कार्वाही प्रक्रिया अगाडि बढाउने भन्दै मन्त्रीपरिषद्ले अन्यको हकमा भने प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भन्दै ओली र लेखकलाई पक्राउ गरेको थियो। पक्राउ लगत्तै एमालेले पार्टीको बैठक राखेर विरोध गर्ने निर्णय गरेपछि काठमाडौँसहित देशका विभिन्न स्थानमा अहिले विरोध प्रदर्शन भइरहेको छ।

बबरमहल क्षेत्रमा भएको प्रदर्शनपछि बाटो अवरुद्ध भएर अलपत्र परेका प्रदर्शनकारी :  तस्बिर : दिपेश श्रेष्ठकाठमाडौंको बबरमहल क्षेत्रमा एमालेका नेता तथा कार्यकर्ताहरू भेला भएर पक्राउको विरोध गर्दै प्रदर्शन सुरु गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीमाथि ढुंगामुढा सुरु भएपछि लाठी चार्ज र अश्रुग्याँस हानेको प्रहरी भदौको जेनजी आन्दोलन जस्तै अराजक हुन नदिन सतर्क देखिन्छ। वाटर क्याननसहित सिंहदरबार क्षेत्रको सुरक्षा निकै कडा पारिएको छ।

प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्। प्रहरीले टायर खोसेर निभाइरहेको छ:  तस्बिर : दिपेश श्रेष्ठ

प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै केही प्रदर्शनकारीहरुले ढुंगामुढा समेत गरेका छन्:  तस्बिर : दिपेश श्रेष्ठ

चैत १४, २०८२ शनिबार १७:५९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।