ओली पक्राउको विरोधमा कर्णालीका विभिन्न जिल्लाहरुमा एमालेको प्रदर्शन, सुरक्षा निकाय ‘हाइ अलर्टमा’

ओली पक्राउको विरोधमा कर्णालीका विभिन्न जिल्लाहरुमा एमालेको प्रदर्शन, सुरक्षा निकाय ‘हाइ अलर्टमा’

सुर्खेत : पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लाहरुमा एमालेले प्रदर्शन गरेको छ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित आयोगको सिफारिस बमोजिम उनीहरूलाई पक्राउ गरिएपछि एमाले कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।

अध्यक्ष ओलीको तत्काल रिहाईको माग गर्दै सुर्खेत, जुम्ला, कालिकोट र दैलेख लगायतका जिल्लाहरुमा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन्।

जुम्लामा एमालेले राँके जुलुस समेत निकालेको छ। सबै जिल्लाका एमाले नेताहरुले सरकारले जवरजस्ती मुलुकलाई मुठभेडमा लिने खोजेको आरोप लगाएका छन्। उनीहरुले तत्काल अध्यक्ष ओलीलाई रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी समेत दिएका छन्।

एमालेले जिल्ला जिल्लामा प्रदर्शन गर्न थालेपछि प्रहरीले सुरक्षा सर्तकता बढाएको छ। सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कर्णालीको सुरक्षा व्यवस्था कडा पारिएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कर्णालीमा सुरक्षा सतर्कता अपनाइएको छ। प्रदेशभरका सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश मातहतका सबै जिल्लाहरुमा सुरक्षा निकायलाई उच्च सतर्कताका साथ बस्न सर्कुलर भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले बताए। जिल्लामा प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा स्थगित गरिएको र सबैलाई स्ट्यान्डबाई बस्न निर्देशन भइसकेको उनले बताए।

कुनै पनि स्थानमा अप्रत्याशित घटना हुन नदिन र भईहाले पनि तुरुन्त नियन्त्रण गर्न सकियोस् भनेर सुरक्षा संयन्त्रलाई पूर्ण तयारीमा राखिएको उनले बताए। आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी सुरक्षा व्यवस्थापन सुदृढ गरिएको उनको भनाई छ।

 २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित आयोगको सिफारिसअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन् ।

चैत १४, २०८२ शनिबार १७:५३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।