ओलीको पक्राउप्रति एमाले सचिव बस्नेतको आक्रोश- 'सरकारको दिनगन्ती सुरु भयो'

ओलीको पक्राउप्रति एमाले सचिव बस्नेतको आक्रोश- 'सरकारको दिनगन्ती सुरु भयो'

काठमाडौं : पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा एमालेले सडक आन्दोलन सुरु गरेको छ। एमाले सचिव महेश बस्नेतले सरकारको उक्त कदमलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण भन्दै भर्त्सना गरे। 

उनले दुई तिहाइ बहुमतको दम्भमा सरकारले अराजकता निम्त्याएको आरोप लगाए। बस्नेतले भनेका छन्, "पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ। अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर, बालेन सरकार र कथित गृहमन्त्री सुधन गुरुङ।"

अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखक पक्राउको गलत निर्णयले दुई तिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको उनले बताए। बस्नेतले भनेका छन्, "तिमीहरूको गलत निर्णयले दुई तिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको छ।"

उनले सरकारको पछिल्लो कदमले मुलुकलाई अस्थिरतातर्फ लैजान खोजेको टिप्पणी गरे। बस्नेतले प्रश्न गरे, "के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो ? देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन-कुन मोडेलतर्फ लैजाँदै छ ?"

उनले विगतमा सरकारी सम्पत्ति तोडफोड गर्ने समूहलाई सरकारले संरक्षण गरेको तर अहिलेको शान्तिपूर्ण आन्दोलनमा दमन गरेको पनि आरोप लगाए। "हिजो सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने बालेन्द्र शाह र सुधन गुरुङद्वारा परिचालित अराजक समूहहरूलाई सरकारले दमन गर्यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन्?," बस्नेतले भनेका छन्।

बस्नेतले सरकारलाई दम्भ त्याग्न र गिरफ्तार गरिएकाहरूलाई रिहा गर्न आग्रह गरे। उनले भने, "तोडफोड भएका गाडीहरूको क्षतिपूर्तिबारे छलफल गरौँला। दुई तिहाइको दम्भ बन्द गर। घाइतेहरूको तुरुन्त उपचार गर। गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहा गर।"

उनले देशभर आन्दोलन अझै सशक्त बनाएर अघि बढाउने चेतावनी पनि दिए। बस्नेतले भने, "यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ।" अध्यक्ष ओलीको गिरफ्तारीपछि एमाले पंक्ति आन्दोलित बनेको छ।

चैत १४, २०८२ शनिबार १७:२२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।