ओली-लेखक पक्राउको विषयमा पूर्व राष्ट्रपति भण्डारीले भनिन्- 'अपरिपक्व निर्णय'
काठमाडौं : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले ‘भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२’को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्।
शनिबार एक विज्ञप्ति जारी गरेर उनले सरकार गठन भएको पहिलो दिनमै तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएको विषयलाई अत्यन्त संवेदनशील र दूरगामी प्रभाव पार्ने कदम भएको बताएकी छन्।
ओली-लेखकलाई पक्राउ गरिनुलाई उनले ‘अपरिपक्व निर्णय’ भनेकी छन्। विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको अपरिपक्व निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने देखिन्छ।”
गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन स्वयंमा अपूर्ण रहेको देखिएको उल्लेख गर्दै भण्डारीले कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुनेमा जोड दिइन्।
हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्ने र मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्ने उनको भनाई छ।
सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो कदम चालिनु दुःखद भएको उल्लेख गर्दै उनले भनिन्, “लोकतान्त्रिक मूल्य, मान्यता तथा संवैधानिक मर्यादाको सम्मान गर्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिनु उपयुक्त हुन्छ।”
भण्डारीले सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन आग्रह समेत गरिन्।
चैत १४, २०८२ शनिबार १६:५०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।