ओली समात्ने बालेन सरकारको विरोधमा सडकमा एमालेको शक्ति प्रदर्शन
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि शनिबार काठमाडौंमा एमाले कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन्। ओलीको पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच माइतीघर तथा बबरमहल क्षेत्रमा तनाव उत्पन्न भएको हो।
शनिबार बिहान प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भक्तपुरस्थित उनीहरूकै निवासबाट नियन्त्रणमा लिएको थियो। सोही घटनालाई लिएर एमाले नेता-कार्यकर्ताहरूले काठमाडौंको माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गरेका थिए।
माइतीघरबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्न खोजेका प्रदर्शनकारीहरूलाई प्रहरीले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि रोक्न खोजेपछि झडप भयो। प्रदर्शनका क्रममा प्रहरी र कार्यकर्ताबीच हात हालाहालको अवस्था समेत सिर्जना भएको छ।

प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका छन्। आन्दोलनका कारण माइतीघर-बानेश्वर सडक खण्डमा सवारीसाधनको आवागमन प्रभावित भएको छ। अहिले त्यहाँ क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।






चैत १४, २०८२ शनिबार १६:१३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।