ओली पक्राउको विरोधमा झापामा एमाले कार्यकर्ताको प्रदर्शन

ओली पक्राउको विरोधमा झापामा एमाले कार्यकर्ताको प्रदर्शन

झापा : पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा झापाको बिर्तामोडमा एमालेका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्।

बालेन शाह नेतृत्वको सरकारले प्रतिशोधपूर्ण ढंगले ओलीलाई पक्राउ गरेको भन्दै एमालेका संगठनहरूले आज बिर्तामोडको मुक्तिचोकमा प्रदर्शन गरेका हुन्।

एमाले पार्टी कार्यालयदेखि मुक्तिचोकसम्म र्याली निकालेर प्रदर्शनकारीहरूले सरकारले गैरकानुनी र पूर्वाग्रही कदम चालेको भन्दै चर्को नारावाजी गरेका थिए।

भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनका विषयमा सरकारले बनाएको प्रतिवेदन पूर्वाग्रही रहेको र सोही आधारमा लोकतान्त्रिक शक्तिमाथि धरपकड गरिएको एमालेको आरोप छ।

मुक्तिचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेलले विदेशीको ईशारामा चलेको सरकारले तत्काल गल्ती नसच्याए महँगो पर्ने चेतावनी दिए। उनले देश नियम कानुनले चलाउन सूझाव दिँदै दुई तिहाईको दम्भ नदेखाउन सूझाव दिए।

एमालेले ओलीको तत्काल रिहाइको माग गर्दै केन्द्रको निर्देशन अनुसार देशव्यापी रूपमा आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ। शान्तिपूर्ण माग पूरा नभए सडकबाटै सत्ताच्यूत गर्ने चेतावनी समेत नेताहरूले दिएका छन्।

चैत १४, २०८२ शनिबार १५:४८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।