ओली पक्राउको विरोधमा सडकमा उत्रिए एमाले कार्यकर्ता, भृकुटीमण्डप र च्यासलमा चर्को नाराबाजी
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि काठमाडौंमा विरोध प्रदर्शन सुरु भएको छ।
एमाले निकट भ्रातृ संगठन अनेरास्ववियु र युवा संघका कार्यकर्ताहरूले काठमाडौंको भृकुटीमण्डपमा भेला भएर विरोध जनाएका छन्। प्रदर्शनकारीले सडकमा टायर बालेर आवागमन अवरुद्ध पार्नुका साथै ओलीको निःशर्त रिहाइको माग गर्दै नाराबाजी गरेका छन्।
एमाले कार्यकर्ताहरूले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय अगाडि पनि टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित ‘जाँचबुझ आयोगको प्रतिवेदन’ जलाएर सरकारको कदमको विरोध गरेको छ।
अनेरास्ववियुले सरकारले राजनीतिक पूर्वाग्रह राखेर ओलीलाई पक्राउ गरेको आरोप लगाएको छ। प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार प्रदर्शन भइरहेका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी स्थिति सामान्य बनाउने प्रयास भइरहेको छ। उनले प्रदर्शनकारीलाई सम्झाउने र सडक सुचारु गराउने कार्य भइरहेको जानकारी दिए।
सम्भावित तनावलाई मध्यनजर गर्दै गृह मन्त्रालयले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। राजधानीका मुख्य चोक र संवेदनशील क्षेत्रहरूमा सुरक्षा उपस्थिति बाक्लो बनाइएको छ।
चैत १४, २०८२ शनिबार १४:४४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।