अध्यक्ष ओली पक्राउ परेपछि संवाद र कानुनी प्रतिवादका लागि एमालेका तीन उपाध्यक्षलाई जिम्मेवारी
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध विभिन्न राजनीतिक दलसँग छलफल गर्न एमालेले जिम्मेवारी बाँडफाँट गरेको छ।
अध्यक्ष ओली पक्राउ परेलगत्तै शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले अन्य दलसँग संवाद गर्न राजनीतिक, संसदीय र कानुनी मोर्चा सम्हाल्ने गरी तीन उपाध्यक्षलाई कार्यभार दिएको हो।
संसदमा रहेका विभिन्न दलहरूसँग संवाद र सहकार्यका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले संयोजन गर्नेछन्। विभिन्न राजनीतिक दलहरूसँग संवाद र समन्वय गर्ने संयोजनको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिइएको छ। यस्तै, पार्टी नेतृत्वमाथि भएको पक्राउको कानुनी लडाइँ र प्रतिवादको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष गोकर्ण विष्टले पाएका छन्।
बैठकको निर्णयबारे जानकारी दिँदै महासचिव शंकर पोखरेलले संसदमा रहेका र नरहेका दलहरूसँग संवाद गरी सरकारको यो कदमविरुद्ध सामूहिक प्रतिवादको योजना बनाइने बताए।
एमालेले यो गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै यसलाई सडक र सदन दुवै ठाउँबाट चुनौती दिने तयारी गरेको छ।
चैत १४, २०८२ शनिबार १४:०१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।