धोनीले पहिलो दुई साता आईपीएल नखेल्ने

धोनीले पहिलो दुई साता आईपीएल नखेल्ने

चेन्नई : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को नयाँ सिजन सुरु हुनुअघि नै चेन्नई सुपर किंग्स (सीएसके) लाई ठूलो धक्का लागेको छ।

टोलीका सदाबहार कप्तान तथा स्टार खेलाडी महेन्द्र सिंह धोनी चोटका कारण सिजनका सुरुवाती दुई साता मैदान बाहिर रहने भएका छन्।

सिजनको पहिलो खेलको पूर्वसन्ध्यामा चेन्नई सुपर किंग्सले एक विज्ञप्ति जारी गर्दै धोनी ‘काफ मसल’ (खुट्टाको तल्लो भाग) को चोटबाट ग्रस्त रहेको र हाल रिह्याब प्रक्रियामा रहेको पुष्टि गरेको हो।

सीएसकेले आफ्नो सिजनको पहिलो खेल मार्च ३० मा गुवाहाटीमा राजस्थान रोयल्सविरुद्ध खेल्दैछ। यो खेलसहित धोनीले सुरुवाती दुई साताका महत्त्वपूर्ण खेलहरू गुमाउने निश्चित भएको छ।

यो अवधिमा चेन्नईले राजस्थान रोयल्सबाहेक पञ्जाब किंग्स (घरेलु मैदान), रोयल च्यालेन्जर्स बेंगलुरु (बाहिरी मैदान) र दिल्ली क्यापिटल्स (घरेलु मैदान) सँग प्रतिस्पर्धा गर्दैछ।

यस वर्ष ४५ औं वर्षमा प्रवेश गर्न लागेका धोनी आईपीएल इतिहासमै सर्वाधिक २७८ खेल खेल्ने कीर्तिमानी खेलाडी हुन्।

विगत केही वर्षयता घुँडाको चोटसँग जुध्दै आएका धोनीले आफ्नो नेतृत्वमा २०२३ मा चेन्नईलाई पाँचौँ पटक आईपीएल उपाधि दिलाएका थिए।

धोनीको अनुपस्थितिमा सीएसकेको विकेटकिपिङ विभागमा अब तीन जना खेलाडीको विकल्प छ।

राजस्थान रोयल्सबाट ट्रेड गरिएका सञ्जु सामसनसँगै टोलीमा कार्तिक शर्मा र उर्विल पटेल उपलब्ध छन्।​​​​​​​ धोनीको अनुपस्थितिमा सञ्जु सामसनलाई प्रमुख विकेटकिपरका रूपमा हेरिएको छ।​​​​​​​

चैत १४, २०८२ शनिबार १२:५६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।