ओली र लेखकको पक्राउ गैरकानुनी, मानव अधिकारको गम्भीर उल्लंघन : बार अध्यक्ष मिश्र
काठमाडौं : नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ कानुन अनुसार नभएको प्रतिक्रिया दिएका छन्।
शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष मिश्रले गौरी बहादुर कार्कीको अनुसन्धान प्रतिवेदन नै छानविनको दायरामा रहिरहेकाबेला हतारमा ओली र लेखक पक्राउ गरिनु कानुन सम्मत नदेखिएको बताए।
‘गौरी बहादुर कार्कीको छानविन प्रतिवेदन नै छानविनको घेरामा छ। त्यसैले हतारिएर, घट्नाको साङ्गोपाङ्गो अनुसन्धान नगरेर, खण्डे अनुसन्धान गरेर कसैलाई पक्राउ गरिनु कानुनी शासनलाई चुनौती हो, मानव अधिकार उल्लंघन हो,’ उनले भने,‘घट्नाको प्रारम्भिक अनुसन्धानबाट को को संलग्न देखियो भनेर खाका बनाउनुपर्ने हुन्छ। खाका बनाइसकेपछि पक्राउ नगरी नहुने किसिमका व्यक्तिको सूची बनाउनुपर्छ। पक्राउ पूर्जी लिने, पक्राउ गर्नैपर्ने व्यक्तिलाई पक्राउ गर्ने हो। हामीले फलानोलाई गिरप्तार गर्यौं भनेर महानता वा विरता दर्शाउने काम होइन।’
उनले गिरफ्तार आफैंमा मानव अधिकारसँग जोडिएको कुरा भएकाले कोही व्यक्ति छानेर पक्राउ गरिनु गम्भीर विषय भएको बताए।
उनले नेपाल बारले पक्राउको विषयमा आन्तरिक छलफल थालेको पनि बताए ।
अध्यक्ष मिश्रले दुई-तिहाइ बहुमतको आडमा न्यायपालिकामाथि दबाब दिने वा हस्तक्षेप गर्ने प्रयास भए नेपाल बारले कडा प्रतिवाद गर्ने चेतावनी दिए।
चैत १४, २०८२ शनिबार १२:४९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।