प्रहरीले गोली चलाउँदा प्रधानमन्त्री जेल जानुपर्ने भए कोही सुरक्षित रहँदैन : लालबाबु पण्डित

प्रहरीले गोली चलाउँदा प्रधानमन्त्री जेल जानुपर्ने भए कोही सुरक्षित रहँदैन : लालबाबु पण्डित

काठमाडौं : पूर्वमन्त्री एवं एमालेका नेता लालबाबु पण्डितले सरकारको पछिल्लो कदमले सुरक्षा संयन्त्र र राज्यका उच्च पदाधिकारीलाई नै जोखिममा पारेको टिप्पणी गरेका छन्।

शनिबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यदि फिल्डमा खटिएका प्रहरीले गोली चलाएको घटनालाई लिएर प्रधानमन्त्री वा गृहमन्त्री नै जेल जानुपर्ने हो भने भविष्यमा देशको कुनै पनि नेतृत्व सुरक्षित नरहने बताएका हुन्।

उनले भने, ‘प्रधानमन्त्री भइसकेपछि कुनै ठाउँमा कतै पनि प्रहरीले गोली चलाउँछ कि चलाउँदैन ? यदि, कुनै ठाउँमा गोली चल्यो भने प्रधानमन्त्री नै फेरि जेल जानुपर्ने, गृहमन्त्री नै फेरि जेल जानुपर्ने स्थिति भयो भने देशको कुनै पनि गृहमन्त्री, प्रधानमन्त्री सुरक्षित रहने छैन।’

उनले  सरकारले आफ्नो पहिलो निर्णयमै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गरेर सरकार प्रतिशोधको राजनीतिमा उत्रिएको बताए।

‘सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण र देशका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीलाई नै पहिलो पक्रेर राजनीतिक प्रतिशोधको सुरुआत गरिएको छ। प्रतिशोधबाट सुशासन प्राप्त हुन सक्दैन’, उनले भने, ‘प्रतिशोधको जवाफ प्रतिवाद हुन्छ र हामी सुशासनकै पक्षमा छौँ, कानुनी उपचारको पक्षमा जान्छौँ।’

उनले यो राजनीतिक प्रतिशोधको एमालेले प्रतिवाद गर्ने समेत बताए। प्रतिशोधपूर्ण व्यवहारबाट सुशासन कायम हुन नसक्ने उल्लेख गर्दै उनले एमाले सधैँ कानुनी राज्य र सुशासनको पक्षमा रहेको स्पष्ट पारे।

सरकारको यस्तो कदमले राजनीतिक स्थायित्व दिनुको सट्टा मुलुकमा अनावश्यक द्वन्द्व र अशान्ति निम्त्याउने समेत पण्डितले बताए। ‘यो कदम अत्यन्तै दुर्भाग्यपूर्ण छ’, उनले थपे।

चैत १४, २०८२ शनिबार १२:१४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।