ओली-लेखक पक्राउपछि कसले के भने?
काठमाडौं : जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिसम्बन्धी घटनामा अनुसन्धानका लागि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि राजनीतिक वृत्तमा प्रतिक्रियाको बाढी आएको छ।
विशेषगरी एमालेले यसलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिँदै कडा आपत्ति जनाएको छ भने कांग्रेसका केही नेताले पनि यो कदमको आलोचना गरेका छन्।
बालेन शाह नेतृत्वको सरकारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै भएको यो गिरफ्तारीले मुलुकमा नयाँ राजनीतिक द्वन्द्वको सुरुवात गरेको नेताहरूले बताएका छन्।
‘राजनीतिक प्रतिशोध’ भन्दै एमालेको निन्दा
पक्राउको खबर सार्वजनिक भएलगत्तै एमालेका शीर्ष नेताहरूले सरकारको कदमको एक स्वरमा भर्त्सना गरेका छन्।
एमाले नेता ईश्वर पोखरेलले यसलाई ‘बदलाको भावनाले गरिएको प्रतिशोधपूर्ण व्यवहार’ भन्दै यसको सशक्त कानूनी र राजनीतिक प्रतिवाद गरिने बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो निन्दनीय कार्य जसरी प्रारम्भ गरिएको छ, यसको सशक्त प्रतिवाद र प्रतिरोध गरिनुपर्छ।’
एमाले महासचिव शंकर पोखरेलले ओलीको पक्राउ प्रतिशोधपूर्ण रहेको र त्यसको मूल्य धेरै महँगो पर्ने पनि चेतावनी दिएका छन्।
‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्बवार बन, अविलम्ब रिहा गर’, उनले भनेका छन्।
एमाले उपमहासचिव योगेश भट्टराईले लोकतन्त्रमा सरकार आक्रामक नभई संयम हुनुपर्नेमा जोड दिएका छन्। उनले घटनाको न्यायिक र निष्पक्ष छानबिनको माग गर्दै ओली र लेखकको अविलम्ब रिहाइको माग गरेका छन्।
‘जनताबाट प्राप्त जनादेशको दुरुपयोग नहोस्,’ उनले भने, ‘हाम्रो पार्टीले कानूनी र राजनीतिक बाटो लिनु पर्दछ।’
त्यस्तै, एमाले सचिव महेश बस्नेतले यो घटनाले देशमा द्वन्द्व बढाउने अवस्था सिर्जना गरेको बताएका छन्। उनले सुदन गुरुङजस्ता ‘अनुभवहीन र अराजक’ व्यक्तिलाई गृहमन्त्री बनाएकाले यस्तो अवस्था आएको टिप्पणी गर्दै प्रतिशोधको राजनीतिको विरुद्ध प्रदर्शनमा उत्रिन आह्वान गरेका छन्।
सरकारी कदमको वैधानिकतामाथि प्रश्न
एमाले नेतृ पाण्डेले बलियो जनमत पाएको सरकारले हतारमा र विधि मिचेर काम गरेको टिप्पणी गरेकी छन्।
उनले ‘नायक फिल्म’को तरिकाले क्षणिक ‘वाहवाही’ मात्र कमाइने तर बलियो कानुनी आधार बिनाको कदमले ‘पहिलो एक्सन नै गलत’ साबित हुने खतरा रहेको औंल्याएकी छन्।
‘कानून जाग्नुपर्छ, न्याय वाच्नु पर्छ। अहंकार र दम्भ जोसँग भए पनि हानिकारक नै हुन्छ’, उनले भनेकी छन्उ।
एमाले नेता गोकुल बास्कोटाले व्यङ्ग्यात्मक टिप्पणी गर्दै लेखेका छन्, ‘बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो... पूर्वाग्रह र प्रतिशोध फाइनल्ली राम्रो हुँदै होइन।’
‘कार्की आयोगको प्रतिवेदन नै पूर्वाग्रहपूर्ण’
पक्राउको आधार बनाइएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि नै नेताहरूले प्रश्न उठाएका छन्।
एमाले सांसद रामकुमारी झाँक्रीले प्रतिवेदनलाई ‘एकपक्षीय र पूर्वाग्रहपूर्ण’ भन्दै गिरफ्तारीलाई गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदमको संज्ञा दिएकी छन्। उनले यसका विरुद्ध कानुनी र राजनीतिक दुवै मोर्चामा सशक्त रूपमा लड्ने बताए।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पनि कार्की आयोगको प्रतिवेदन ‘अपूर्ण र अपुरो’ रहेको टिप्पणी गरेका छन्।
उनले दोषीलाई लुकाएर एक पक्षलाई मात्र लक्षित गर्दा सुशासन स्थापना हुन नसक्ने बताउँदै भने, ‘प्रतिशोध, द्वन्द्व वा मुठभेड होइन, नागरिकले त कानुनी राज्य र न्यायको अपेक्षा गरेका हुन्।’
चैत १४, २०८२ शनिबार ११:५९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।