जुम्लाको कुडारीमा आगलागी, एसइईको तयारीमा रहेका १५ वर्षीय किशोरको मृत्यु

जुम्लाको कुडारीमा आगलागी, एसइईको तयारीमा रहेका १५ वर्षीय किशोरको मृत्यु

जुम्ला : जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। 

गए राति करिब १ बजेतिर घरमा आगलागी हुँदा कक्षा १० मा अध्यनरत १५ वर्षीय क्षितिज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निर्देश बरालले जानकारी दिए। सुर्खेत बस्दै आएका उनी एसइइ परीक्षा दिनका लागि कुडारीस्थित आफ्नो घरमा आएका थिए।

जिल्लाबाट प्रहरीको टोली घटनास्थल पुगेर मुचुल्का उठाउन थालेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

घरमा आगलागी हुँदा सुतेकै अवस्थामा निसास्सिएर खत्रीको मृत्यु भएको हुनसक्ने वडाध्यक्ष धनबहादुर शाहीले बताए। उनका बुबा भारतमा र आमा जिल्ला बाहिर रहेका छन्।  

खत्रीको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए।  

चैत १४, २०८२ शनिबार ११:२७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।