ओलीको पक्राउविरुद्ध एमालेको आन्दोलन घोषणा, आजैबाट देशव्यापी प्रदर्शन
काठमाडौं : एमालेले आफ्ना अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ।
ओलीलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै शनिबार बिहान बसेको पार्टी सचिवालयको बैठकले सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिएको छ।
बैठकपछि पार्टीले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै एमालेले कानूनी र राजनीतिक दुवै मोर्चाबाट सशक्त प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए।
उनका अनुसार एमालेले आजै (शनिबार) देशभरका जिल्ला सदरमुकामहरूमा एमालेका जनसंगठनहरूको अगुवाइमा विरोध प्रदर्शन गर्नेछ।
आइतबार दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा देशभरका जिल्लाहरूमा व्यापक जनप्रदर्शन गर्ने र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोधपत्र बुझाउनेछ।
यसका अलावा पार्टीले लोकतन्त्र र कानूनी राज्यको पक्षमा रहेका अन्य राजनीतिक दलहरू, नागरिक समाज र आम जनसमुदायसँग समेत संवाद र सहकार्य गरी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ।
‘कानूनी र राजनीतिक प्रतिवादको बाटो’
सचिवालय बैठकले सरकारको कदमले लोकतन्त्र र कानूनी राज्यको उपहास गरेको ठहर गरेको छ।
एमालेका नेताहरूले सरकारले ल्याएको कार्की आयोगको प्रतिवेदनलाई ‘एकपक्षीय र पूर्वाग्रही’ भन्दै यसको आधारमा गरिने पक्राउले मुलुकलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने चेतावनी दिएका छन्।
पार्टीले आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई धैर्य र संयमित रहन आग्रह गर्दै लोकतान्त्रिक र शान्तिपूर्ण माध्यमबाट प्रतिवादमा उत्रिन निर्देशन दिएको छ।
चैत १४, २०८२ शनिबार ११:२४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।