ओलीलाई पक्राउ गर्नका लागि दिइएको पक्राउ पुर्जीमा के छ?
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंले जारी गरेको जरुरी पक्राउ पुर्जीमा उनलाई ‘ज्यान सम्बन्धी कसुर’को अनुसन्धानका लागि नियन्त्रणमा लिनुपरेको उल्लेख छ।
प्रहरीले उपलब्ध गराएको पक्राउ पुर्जीको तस्वीर अनुसार, यो अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी परिसर, काठमाडौंबाट जारी भएको हो।
पुर्जीमा ओलीको पूरा नाम ‘श्री के.पि. शर्मा (ओली) भन्ने खड्ग प्रसाद शर्मा ओली’ र ठेगाना ‘भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु स्थित बस्ने’ भनेर लेखिएको छ।
पुर्जीमा पक्राउ गर्नुको कारण स्पष्ट पार्दै भनिएको छ, ‘तपाईंलाई ज्यान सम्बन्धी कसुर समेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकोले यो पक्राउ पुर्जी जारी गरिएको छ।’
यो पुर्जीमा प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) राजु अधिकारीले हस्ताक्षर गरेका छन्। पुर्जी जारी भएको मिति २०८२ साल चैत १४ गते उल्लेख छ।
जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको घटनामा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ आरोपमा अनुसन्धानका लागि ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान प्रहरीले उनीहरूकै घरबाट पक्राउ गरेको थियो।
नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि यो प्रक्रिया अघि बढेको हो। प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १८२ (हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने) अनुसार अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेको हो।
जरुरी पक्राउ पुर्जीमार्फत अदालतको पूर्व-अनुमति बिना नै पक्राउ गरिएकाले अब उनीहरूलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई हिरासतमा राख्न न्यायिक अनुमति लिनुपर्ने हुन्छ।
चैत १४, २०८२ शनिबार १०:२१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।