अध्यक्ष ओली पक्राउको विरोधमा एमाले कार्यकर्ता सडकमा
काठमाडौं : पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय राजधानी काठमाडौंमा सडक प्रदर्शन सुरु गरेको छ।
शनिबार बिहान सरकारले अध्यक्ष ओलीलाई पक्राउ गरेलगत्तै आक्रोशित बनेका एमाले कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।
अहिले काठमाडौंको चाबहिल क्षेत्रमा भेला भएका एमाले कार्यकर्ताहरूले सरकारविरुद्ध चर्को नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्।
सडकमा उत्रिएका उनीहरूले ‘प्रतिशोधपूर्ण राजनीति बन्द गर’, ‘अध्यक्ष ओलीलाई अविलम्ब रिहा गर’ भन्दै नारा लगाइरहेका छन्।
एकातिर कार्यकर्ताहरू सडक प्रदर्शनमा उत्रिएका छन् भने अर्कोतर्फ ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेको आकस्मिक सचिवालय बैठक जारी छ।
ओली पक्राउ परेलगत्तै एमालेका शीर्ष नेताहरूले यो कदमलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै सडक र सदनबाट कडा प्रतिवाद गर्ने चेतावनी दिएका थिए। सोही रणनीतिअनुसार कार्यकर्ता सडकमा निस्किएका हुन्।
अहिले जारी सचिवालय बैठकले पक्राउको औपचारिक विरोध गर्दै आन्दोलन र कानुनी लडाइँका थप कार्यक्रम घोषणा गर्ने बताइएको छ।
चैत १४, २०८२ शनिबार १०:०५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।