अध्यक्ष ओली पक्राउप्रति एमालेको तीव्र आक्रोश : ‘प्रतिशोधको मूल्य महँगो पर्ने’ चेतावनी, आकस्मिक सचिवालय बैठक जारी
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि प्रमुख राजनीतिक दल न एमालेका नेताहरूले सरकारको कदमप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्।
उनीहरूले ओलीको पक्राउलाई ‘राजनीतिक प्रतिशोध, पूर्वाग्रह र हतासको मनस्थिति’ को संज्ञा दिँदै यसको मूल्य सरकारलाई महँगो पर्ने चेतावनी दिएका छन्।
अध्यक्ष ओली पक्राउपछिको उत्पन्न परिस्थिति र भावी रणनीति तय गर्न यतिबेला एमालेको आकस्मिक सचिवालय बैठक बसिरहेको छ।
एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई अविलम्ब रिहा गर्न सरकारसमक्ष माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले यो पक्राउ प्रतिशोधपूर्ण रहेको बताएका छन्।
उनले सरकारलाई चेतावनी दिँदै लेखेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर।’
त्यसैगरी, एमाले नेता योगेश भट्टराईले सरकारले प्रतिवेदनको पूर्ण अध्ययन नै नगरी हतारमा निर्णय लिएको दाबी गरेका छन्। उनले यसलाई कानुनी रूपमै प्रतिवाद गर्ने बताए।
‘यो प्रतिशोध हो, उहाँहरुसँग समय पर्याप्त थियो। प्रतिवेदन सरकारका सबै मन्त्रीहरुले अध्ययन गरिसकेका छैनन्। हतासमा गरिएको निर्णय हो। हामी कानुनी लडाइँ लड्छौँ,’ भट्टराईले भने।
एमाले सांसद क्षितिज थेवेले सरकारको यो कदमलाई अधिकारवादीमाथिको प्रहार भन्दै पार्टीले अब तीनवटै मोर्चाबाट प्रतिवाद गर्ने उद्घोष गरेका छन्।
उनले भनेका छन्, ‘अधिकारका लागि लड्ने हिमायतीहरुविरुद्ध प्रतिशोध साँधिएको छ। यो सही कदम होइन। समयले उहाँहरुलाई धिक्कार्नेछ। एमालेले सडक, सदन र न्यायालय सबैतिरबाट आफ्नो लडाइँ लड्छ।’
अर्का एमाले नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको नयाँ सरकारको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै देशलाई ‘ब्ल्याकहोल’ तिर धकेल्न खोजिएको आरोप लगाएका छन्।
छिमेकी देशहरूको राजनीतिक अस्थिरताको उदाहरण दिँदै उनले भनेका छन्, ‘बालेनयुगमा जान्छ भन्थे, ब्ल्याकहोलतिर जाने देखियो। पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन। पूर्वाग्रह र प्रतिशोध फाइनल्ली राम्रो हुँदै होइन।’
अध्यक्ष ओलीको पक्राउलाई लिएर पार्टीको आधिकारिक धारणा, कानुनी उपचारको बाटो र सडक तथा सदनमा गरिने आन्दोलनका कार्यक्रम घोषणा गर्न अहिले जारी एमालेको आकस्मिक सचिवालय बैठकले ठोस निर्णय लिने बताइएको छ।
चैत १४, २०८२ शनिबार ०९:०२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।