प्रहरी हेडक्वाटरको निर्देशन ‘ एसएसपीदेखि प्रहरी जवानसम्म बिहानै ७ बजे चुस्तामा आउनु’

प्रहरी हेडक्वाटरको निर्देशन ‘ एसएसपीदेखि प्रहरी जवानसम्म बिहानै ७ बजे चुस्तामा आउनु’

काठमाडौं : प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि प्रहरी जवानसम्मलाई शनिवार बिहानै प्रहरी प्रधान कार्यालयमा बोलाएको छ। शुक्रवार बेलुका प्रहरी प्रधान कार्यालयको प्रशासनले प्रधान कार्यालय मातहतमा रहेका एसएसपीदेखि प्रहरी जवानसम्मलाई चैत १४ गते बिहान ७ बजे प्रहरी प्रधान कार्यालयमा चुस्ता पोशाकमा स्ट्यान्डबाइ बस्न भनिएको छ।

यस्तो निर्देशन आकस्मिक तयारीमा मात्र दिइन्छ। शुक्रवार प्रधानमन्त्रीमा बालेन्द्र शाहको शपथपछि बसेको मन्त्रीपरिषद्को बैठकले जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

मन्त्रीपरिषद् बैठकले सुरक्षाकर्मीको हकमा प्रतिवेदनको अध्ययन गर्न समिति गर्न गर्ने तर अन्यको हकमा भने तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितमाथि जघन्य अपराधमा कार्वाहीको सिफारिस गरेको छ। शुक्रवार गृहमन्त्रीमा सुदन गुरुङ नियुक्त भएका छन्। 

उनी प्रारम्भदेखि नै ओली र लेखकमाथि हत्यामा कार्वाही गराउने पक्षमा सक्रिय छन्। उनले यस अगाडि नै ओली र लेखकलाई पक्राउ गरेर कार्वाही गर्न प्रहरीमा जाहेरी दिएका थिए। तर प्रहरीले सो जाहेरी आयोगमा पठाएको थियो।

चैत १३, २०८२ शुक्रबार २१:३७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।