एमबिबिएसमा नाम निकालिदिने भन्दै ठगीमा समातिएका दीपक बालेन सरकारमा श्रममन्त्री, सोध्दा भने ‘अहिले केही भन्न मिल्दैन’

एमबिबिएसमा नाम निकालिदिने भन्दै ठगीमा समातिएका दीपक बालेन सरकारमा श्रममन्त्री, सोध्दा भने ‘अहिले केही भन्न मिल्दैन’

काठमाडौं : दुई तिहाइ नजिकको शक्तिशाली प्रधानमन्त्री बालेन साहले शुक्रवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त गरेका दीपक कुमार साह ठगी मुद्दामा पक्राउ परेका व्यक्ति रहेको खुलेको छ।

वर्ड वाइड कन्सल्टेन्सीको सञ्चालक दीपक साह एमबिबिएस परीक्षा पास गराइदिने भन्दै ठगी गरेको आरोपमा २०७३ असोज १६ गते पक्राउ परेको विवरण फेला पर्यो। उकेराले ती साह र शुक्रवार मन्त्रीमा नियुक्त साह एकै व्यक्ति हुन् भनेर खोज्दा दुवै एकै व्यक्ती भएको पुष्टि भयो।

दस वर्ष अगाडिको आपराधिक गतिविधि भएकाले सो मुद्दामा के भयो भनेर नवनियुक्त मन्त्री साहलाई सोध्यौँ। सो घटनामा सफाइ पाएको हो कि हैन भनेर उनलाई सोध्दा उनले भने ‘त्योबारे बोल्न मिल्दैन’ भन्दै फोन राखे।

मन्त्री नियुक्त भएकोमा बधाईँदिँदै उकेराकर्मीले एमबिबिएस परीक्षामा पास गरिदिन्छु भनेर एक जनासँग पैसा लिएको ठगी मुद्दामा पक्राउ पर्नु भएको रहेछ, त्यो मुद्दा के भयो भनेर सोधेको थियो। साहले भने,‘केही पनि हैन। त्यो केही पनि हैन। पछि कुरा गरौँला’ भनेर टार्न खोजे।

त्यो मुद्दाबारे केही भनिदिन मिल्छ कि? भनेर पुन सोध्दा उनले,‘केही पनि (भन्न) मिल्दैन। त्यो छँदै छैन केही पनि, के भन्नु। ल...’ भन्दै फोन राखे।

के थियो घटना ?

२०७३ असोज १६ गते प्रहरी प्रधान कार्यालयले एक आपराधिक विवरण सार्वजनिक गरेको थियो। सो विवरण अनुसार त्यो बेलामा साह वर्ल्ड वाईड कन्सल्टेन्सीमा सञ्चालक थिए। पुतलीसडकमा रहेको सो कन्सल्टेनीमा संचालकहुँदा महोत्तरी गोनरपुरा–६ का साह काठमाडौँ महानगरपालिका–१२ टेकु बस्ने गरेका थिए। त्यो बेलामा उनको उमेर २६ वर्ष थियो।

प्रहरीले एमबिबिएसमा नाम निकालिदिने भनेर ठगी गरेको आरोपमा साहसहित सोही कन्सल्टेन्सीमा काउन्सीलिङ काम गरी बस्ने सिन्धुली आम्बोटे–९ घर भएका २५ वर्षीय गणेश अधिकारीलाई समेत पक्राउ गरेको थियो।

प्रहरीको विवरण अनुसार काठमाडौँ नागार्जुन नगरपालिका–२ बस्ने सायसा पन्तलाई आफू पुतलीसडक स्थित वर्ल्ड वाईड कन्सल्टेन्सीमा काम गर्ने र विभिन्न डाक्टरहरूसँग राम्रो चिनजान रहेको भन्दै उनले असोज १५ गतेदेखि काठमाडौं विश्व विद्यालयबाट हुने एमबिबिएस परीक्षामा पास गरिदिन्छु तर पैसा लाग्छ भनेर पन्तको आमा विमला पन्तसँग दुई लाख लिने सहमति गरेका थिए।

पछि उनीहरूले महानगरीय अपराध महाशाखामा ठगीको जाहेरी दिएका थिए। अधिकारीले रकम बार्गेनिङ गरी दुई लाखको चेक लिएपछि अब काम हुन्छ, ढुक्क हुनुहोस् भन्दै गरेको अवस्थामा महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो। त्यो बेला महाशाखामा एसएसपी सर्वेन्द्र खनाल प्रमुख थिए।

प्रहरीले त्यो बेला सार्वजनिक गरेको विवरणमा भनिएको छ,“निज गणेश अधिकारीले उक्त काम सञ्चालक दीपक कुमार साह मार्फत हुने बताएपछि प्रहरीले (२०७३) असोज  १३ गते टेकुबाट साहलाई समेत पक्राउ गरेको हो।”

अधिकारी र साह दुवै जनालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि असोज १४ मा महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीको विवरणमा उल्लेख छ।

सो विवरणमा “दीपक कुमार साहले आफूलाई डाक्टर बताई ठगी गर्ने गरेको देखिएको र उनी वास्तविक डाक्टर नभएको खुल्न आएको” समेत उल्लेख छ।

उनै साह महोत्तरी–२ बाट रास्वपाको उम्मेदवार बनेर निर्वाचित भए। बालेन टिमले मन्त्री चयन गर्दा क्षमता र विज्ञताका आधारमा नियुक्त गर्ने दाबी गर्दै आएका थियो। ठगी पृष्ठभूमि भएका उनै शाह शुक्रवार मन्त्रीपरिषद् गठन हुँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बने।

चैत १३, २०८२ शुक्रबार २०:५४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।