बाबुरामको पार्टी छोडेर लौरोबाट चुनाव हारेका गनेस ‘बालेन सरकार’को पर्यटनमन्त्री

बाबुरामको पार्टी छोडेर लौरोबाट चुनाव हारेका गनेस ‘बालेन सरकार’को पर्यटनमन्त्री

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठन भएको नयाँ मन्त्रिपरिषद्मा लेखक तथा सामाजिक अभियन्ता खडकराज (गनेस) पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट कास्की क्षेत्र नम्बर १ बाट भारी मतान्तरसहित उनी निर्वाचित भएका हुन्।

निर्वाचनमा पौडेलले ३९ हजार ८८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ र नेकपा एमालेका वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ मत पाएका थिए।

स्थानीय चुनावको पराजय, सिंहदरबारमा मन्त्री
वि.सं. २०३६ सालमा पोखरा महानगरपालिका-१४, मझेरीपाटनमा जन्मिएका पौडेलको राजनीतिक यात्रा निकै उतारचढावपूर्ण छ।

उनी विगतमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७३ जेठ ३० गते घोषणा भएको तत्कालीन नयाँ शक्ति पार्टीमा समेत आबद्ध थिए। तर पार्टीले २०७४ सालको निर्वाचनमा शर्मनाक हार व्यहोरेपछि उनी पार्टीबाट अलग भएका थिए।

त्यसपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी ‘लौरो’ चुनाव चिह्न लिएर पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र रूपमा भिडेका थिए। यद्यपि, उक्त चुनावमा उनी ५ हजार १२८ मत प्राप्त गर्दै वर्तमान मेयर धनराज आचार्यसँग पराजित भए।

तर, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा उनी सक्रिय रूपमा होमिए। स्थानीय तहको निर्वाचनदेखि नै बालेन शाहसँग नजिकिएका पौडेल जेनजी आन्दोलनपछि बालेनसँगै रास्वपा प्रवेश गरेका थिए। रास्वपाको केन्द्रीय सदस्य बनेका जउनले कास्की-१ बाट टिकट पाए र सानदार जितसमेत हासिल गरे।

प्राध्यापनदेखि साहित्यसम्मको यात्रा
आफूलाई लेखक तथा अभियन्ताका रूपमा चिनाउन रुचाउने पौडेलको प्राज्ञिक र साहित्यिक पृष्ठभूमि पनि अब्बल छ।

उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन्। 

व्यावसायिक रूपमा एक दशकभन्दा लामो समय शिक्षण पेसा (प्राध्यापन) मा बिताएका पौडेलले ‘मुसा मानुष’ र ‘पैताला’ जस्ता चर्चित पुस्तकहरू लेखिसकेका छन्।

उनी साहित्य र समसामयिक विषयमा निरन्तर कलम चलाउने बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन्।

मन्त्री पौडेलसामु पोखरा विमानस्थलको चुनौती
स्थानीय तहको निर्वाचनमा पराजित भएर पनि प्रतिनिधि सभामा सानदार छलाङ मार्दै सिधै पर्यटन मन्त्री बनेका पौडेलसामु अब थुप्रै चुनौती छन्।

विशेषगरी, उनकै गृहजिल्लामा निर्मित तर हालसम्म पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल’को विषय उनका लागि सबैभन्दा ठूलो ‘अग्निपरीक्षा’ हुनेछ। 

उक्त विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारको छानबिन, अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि गर्नुपर्ने कूटनीतिक पहल र नागरिक उड्डयन क्षेत्रमा देखिएका समग्र संरचनागत सुधारका विषयमा नवनियुक्त मन्त्री पौडेलले कस्तो कदम चाल्छन्, त्यो भने हेर्न बाँकी नै छ।

यो पनि:

चैत १३, २०८२ शुक्रबार १८:५७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।