कांग्रेसका हस्तीलाई हराएका डा. विक्रम तिमिल्सिना : रेडियो प्रस्तोतादेखि सञ्चार मन्त्रीसम्म

कांग्रेसका हस्तीलाई हराएका डा. विक्रम तिमिल्सिना : रेडियो प्रस्तोतादेखि सञ्चार मन्त्रीसम्म

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बनेको नयाँ सरकारमा ४३ वर्षीय डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

शुक्रबार सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री तिमिल्सिनाले राजनीति र प्रशासनप्रति नागरिकको घट्दो विश्वासलाई पुनःस्थापित गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।

‘हामीले जिम्मेवारी लिएका छौँ, हाम्रो सबैभन्दा ठूलो धर्म राजनीति र प्रशासनप्रतिको गुमेको विश्वास फर्काउनु हो,’ पदभार ग्रहणपछि कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले भने, ‘राजनीति नै गलत हो भन्ने सन्देश प्रवाह भइरहेको अवस्थालाई चिर्दै देशमा आशा जगाउनुपर्छ।’

उनले प्रधानमन्त्री बालेन शाहको ‘मिसन’ र ‘भिजन’ अनुसार मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाउँदै कर्मचारीलाई इमानदारिता र सामूहिक भावनाका साथ काम गर्न निर्देशन दिए।

‘तपाईंहरूका काम र विचार देशको नीतिनियम र जनताको सपनासँग बाझिनु हुँदैन’, मन्त्री तिमिल्सिनाले स्पष्ट पारे।

सो अवसरमा मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले मन्त्रालयका प्रमुख कार्य, नीति तथा बजेट निर्माणको पूर्वतयारीबारे उनलाई ‘ब्रिफिङ’ गरेकी थिइन्।

को हुन् डा. विक्रम तिमिल्सिना?
वि.सं. २०३९ सालमा नुवाकोटको साविक चौघडा-९ (हाल पञ्चकन्या गाउँपालिका-१) मा जन्मिएका डा. तिमिल्सिनाको पृष्ठभूमि बहुआयामिक छ। गाउँकै विद्यालयबाट प्रारम्भिक शिक्षा पूरा गरेका उनी राजनीति, अनुसन्धान, प्राध्यापन, साहित्य र पत्रकारिता क्षेत्रमा उत्तिकै सक्रिय रहँदै आएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका उनले अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयबाट ‘अन्तर्राष्ट्रिय अध्ययन’ मा एड्भान्स्ड मास्टर्स र अस्ट्रेलियाकै ग्रिफिथ विश्वविद्यालयबाट राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन्।

विगतमा चर्चित एफएम रेडियो ‘सगरमाथा’ मा कार्यक्रम प्रस्तोताका रूपमा छवि बनाएका उनले अस्ट्रेलिया बसाइका क्रममा ‘नेपाल एक्सप्रेस’ को कार्यकारी सम्पादक र सिड्नीबाट सञ्चालित ‘साउथ एसिया डटकम डट एयू’ न्युज पोर्टलको सम्पादकीय सल्लाहकारका रूपमा काम गरेको अनुभव सँगालेका छन्।

उनी नेपाली गीत-संगीतमा समेत रुचि राख्छन् र उनका केही गीतहरू रेकर्डसमेत भइसकेका छन्।

प्राज्ञिक जग र राजनीतिक छलाङ
सांसद र मन्त्री बन्नुअघि डा. तिमिल्सिना त्रिभुवन विश्वविद्यालयमा आन्तरिक सुरक्षा, राजनीति र कूटनीति विषयको अध्यापन गराउँथे। उनी नेपालको शान्ति प्रक्रिया, परराष्ट्र नीति र भू-राजनीतिक जटिलताको सूक्ष्म अध्ययन गर्ने एक अब्बल अनुसन्धान विशेषज्ञ र विश्लेषक मानिन्छन्।

उनी ‘एसियन इन्स्टिच्युट फर एड्भान्स रिसर्च’ का संस्थापकसमेत हुन् भने भ्रष्टाचार नियन्त्रणसम्बन्धी अध्ययन (एन्टी-करप्सन स्टडिज) का विज्ञका रूपमा पनि चिनिन्छन्।

२०६२/०६३ को जनआन्दोलनमा सचेत नागरिकका रूपमा सक्रिय भूमिका खेलेका तिमिल्सिनाको औपचारिक राजनीतिक यात्रा भने निकै छोटो छ। अस्ट्रेलियाबाट फर्केपछि उनी करिब दुई वर्षअघि मात्रै रवि लामिछाने नेतृत्वको रास्वपामा जोडिएका थिए। २०८० सालमा रास्वपाको केन्द्रीय अन्तर्राष्ट्रिय विभागको सदस्य हुँदै उनी सोही विभागको उपप्रमुख बनेका थिए।

भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’ ले ल्याएको राजनीतिक उथलपुथलपछि गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनले नुवाकोट क्षेत्र नम्बर १ बाट रास्वपाको उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरे। 

उक्त निर्वाचनमा उनले नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ४ हजार १२ मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन्।

तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी डा. महतले १८ हजार ५९७ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का हितबहादुर तामाङले १३ हजार ३७७ मत ल्याएका थिए।

यो पनि:

चैत १३, २०८२ शुक्रबार १८:१९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।