भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री बालेनलाई बधाई
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेको अवसरमा मोदीले सामाजिक सञ्जालमार्फत शाहलाई बधाई र शुभकामना दिएका हुन्।
प्रधानमन्त्री मोदीले शाहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमा देखाएको विश्वासलाई प्रतिबिम्बित गरेको बताएका छन्। उनले लेखेका छन्, "नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्ति नेपाली जनताले तपाईंको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो।"
भारतीय प्रधानमन्त्रीले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रहरू पहिल्याउने प्रतिबद्धता समेत व्यक्त गरे। दुई देशका जनताको पारस्परिक हितका लागि मित्रतालाई अझ उच्च उचाइमा पुर्याउन आफू तत्पर रहेको उनको भनाइ छ।
मोदीले अगाडि लेखेका छन्, "भारत-नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्याउन तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु।"
शाहसँग नजिक रहेर काम गर्न आफू उत्सुक रहेको उल्लेख गर्दै मोदीले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
चैत १३, २०८२ शुक्रबार १४:५०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।