ट्रम्पद्वारा इरानमा आक्रमण रोकेको दाबी, तर इजरायलद्वारा तेहरानमा भीषण बमबारी

ट्रम्पद्वारा इरानमा आक्रमण रोकेको दाबी, तर इजरायलद्वारा तेहरानमा भीषण बमबारी

काठमाडौं : एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक वार्ता भइरहेको भन्दै आक्रमण स्थगित गरेको दाबी गरेका छन्, भने अर्कोतिर इजरायलले इरानको राजधानी तेहरानसहित ९ वटा सहरमा भीषण हवाई आक्रमण गरेको छ।

यसले मध्यपूर्वको संकट कूटनीतिक समाधानतिर भन्दा पनि थप जटिलतातर्फ धकेलिएको संकेत गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको ऊर्जा केन्द्रहरूमाथिको सम्भावित आक्रमण १० दिनका लागि स्थगित गरेको घोषणा गरेका छन्।

ट्रुथ सोसलमार्फत उनले इरानकै आग्रहमा यो निर्णय लिएको र नयाँ समयसीमा अप्रिल ६ तारिख बेलुका ८ बजेसम्मका लागि तोकिएको बताए।

ट्रम्पले दुई देशबीचको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै भने, ‘इरानले विश्वास जित्नका लागि पाकिस्तानी झन्डा फहराएका १० वटा तेल ट्याङ्करलाई विना अवरोध जान दिएर हामीलाई उपहार दिएको छ।’

ह्वाइट हाउसको क्याबिनेट बैठकमा उनले इरानले पहिले ८ वटा र पछि माफी माग्दै थप २ वटा ट्याङ्कर जान दिएको बताए।

यद्यपि, इरानी अधिकारीहरूले भने ट्रम्पको दाबीलाई पुष्टि गरेका छैनन्। उनीहरू अमेरिकाले प्रस्ताव गरेको १५ बुँदे योजना आफ्नो हितमा नरहेको भन्दै अमेरिकी भनाइप्रति विश्वस्त छैनन्।

इजरायलद्वारा इरानमाथि निरन्तर प्रहार
अमेरिकाले शान्ति वार्ताको कुरा गरिरहँदा इजरायली सेनाले बिहीबार इरानका ९ वटा सहरमा एकैदिन भीषण आक्रमण गरेको छ। इजरायली सेनाले तेहरानका महत्त्वपूर्ण सरकारी तथा सैन्य संरचनाहरूलाई निशाना बनाएको जनाएको छ।

रातभरि तेहरानका विभिन्न हिस्सामा विस्फोटका ठूला आवाजहरू सुनिएका थिए। यस आक्रमणबाट भएको मानवीय वा भौतिक क्षतिको आधिकारिक विवरण भने आइसकेको छैन।

मध्यपूर्वमा अमेरिकाले थप १० हजार सैनिक पठाउँदै
शान्तिको कुरा गरिरहेको अमेरिकाले सैन्य तयारी पनि तीव्र पारेको छ। ‘वाल स्ट्रिट जर्नल’को रिपोर्टअनुसार अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले मध्यपूर्वमा थप १० हजार स्थल सैनिक पठाउने तयारी गरिरहेको छ।

जसमा पैदल सेना र बख्तरबन्द गाडीहरू समावेश हुनेछन्। यसअघि नै अमेरिकाले यस क्षेत्रमा ५ हजार मरिन र २ हजार प्याराट्रुपर्स पठाउने आदेश दिइसकेको छ। यसले ट्रम्पलाई सैन्य विकल्प खुल्ला राख्न मद्दत गर्ने विश्लेषण गरिएको छ।

हिजबुल्लाहको इजरायलमा १०० रकेट प्रहार
उता इजरायल र लेबनानस्थित हिजबुल्लाहबीचको भिडन्त पनि चरम उत्कर्षमा पुगेको छ। बिहीबारदेखि शुक्रबार बिहानसम्म हिजबुल्लाहले दक्षिणी लेबनानबाट उत्तरी इजरायलतर्फ करिब १०० वटा रकेट प्रहार गरेको छ।

इजरायलको उत्तरी सहर नाहरियामा रकेट खस्दा एक जना सर्वसाधारणको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। त्यसैगरी, लेबनानको सीमाभित्र भएको एन्टी-ट्याङ्क मिसाइल आक्रमणमा एक इजरायली सैनिकको ज्यान गएको छ र अन्य दुई जना घाइते भएका छन्।

इरानको चेतावनी: 'शत्रुका जहाज रोक्ने हाम्रो अधिकार'
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले रणनीतिक महत्त्वको स्ट्रेट अफ हर्मुजमा शत्रु देशका जहाजहरूलाई रोक्नु इरानको कानुनी अधिकार भएको चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको कुराकानीमा उनले उक्त जलमार्गमा देखिएको असुरक्षाका लागि अमेरिका र इजरायल जिम्मेवार रहेको बताए। एक तटीय देशको हैसियतले आफ्नो सुरक्षाका लागि इरानले आवश्यक कदम चालेको उनको भनाइ छ।

चैत १३, २०८२ शुक्रबार ०८:१४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।