मौलिक भेषभूषामा सांसदहरूको शपथ ग्रहण (फोटो फिचर)

मौलिक भेषभूषामा सांसदहरूको शपथ ग्रहण (फोटो फिचर)

काठमाडौं : गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीबार सिंहदरबारस्थित नवनिर्मित सङ्घीय संसद्को बहुउद्देश्यीय हलमा सांसदहरूले शपथ लिएका हुन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराए। ज्येष्ठ सदस्य बुधबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

शपथ ग्रहण समारोहमा मुलुकको विविधता झल्किने दृश्यहरू देखिएका थिए। विभिन्न जातजाति र समुदायको मौलिक भेषभूषामा सजिएर सांसदहरू संसद् भवन पुगेका थिए। केही सांसदहरूले आफ्नै मातृभाषामा शपथ लिएका थिए।

नवनिर्मित प्रतिनिधिसभाको मुख्य हल पूर्ण रूपमा तयार भइनसकेकाले बहुउद्देश्यीय हलमा शपथको व्यवस्था मिलाइएको थियो। संसद्का केही प्रारम्भिक बैठकहरू पनि सोही हलमा बस्ने सचिवालयले जनाएको छ। हलभित्र राजनीतिक दलहरूको सिट संख्याका आधारमा बस्ने स्थान तय गरिएको थियो।

शपथ ग्रहणलगत्तै प्रत्येक सांसदलाई संसद् सचिवालयले एउटा झोला उपलब्ध गराएको छ। उक्त झोलामा नेपालको संविधान, प्रतिनिधिसभा नियमावली र संयुक्त बैठक सञ्चालन नियमावली राखिएको छ, जसले सांसदहरूलाई संसदीय प्रक्रिया र संवैधानिक व्यवस्थाबारे बुझ्न सहयोग पुर्याउनेछ।

फागुन २१ को निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। यस्तै नेपाली कांग्रेसले ३८, एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन्। नयाँ सांसदहरूको आगमनसँगै अब संसदीय प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

चैत १२, २०८२ बिहीबार १६:१६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।