अमेरिका-इरान वार्ताको चर्चाबीच खाडी राष्ट्रहरूमा मिसाइल र ड्रोन आक्रमण, कुवेत र यूएईद्वारा प्रतिकार
एजेन्सी : अमेरिका र इरानबीच सम्भावित वार्ता हुन सक्ने खबरहरू बाहिरिइरहेका बेला खाडी देशहरूमा ताजा आक्रमणका घटनाहरू सार्वजनिक भएका छन्।
कुवेत, बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो आकाशमा मिसाइल र ड्रोन आक्रमण भएको जनाएका छन्।
कुवेती सेनाले केही समयअघि मात्रै आफ्नो एयर डिफेन्स प्रणालीले दुश्मनका मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेको जानकारी दिएको छ।
सेनाको जनरल स्टाफले नागरिकहरूलाई आश्वस्त पार्दै भनेको छ, ‘यदि विस्फोटको ठूलो आवाज सुनियो भने, त्यो हाम्रो एयर डिफेन्स सिस्टमले दुश्मनको आक्रमणलाई आकाशमै नष्ट गर्दा आएको आवाज हो।’
साथै, सेनाले सर्वसाधारणलाई सम्बन्धित अधिकारीहरूले जारी गरेका सुरक्षा निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
यसैगरी, बहराइनको गृह मन्त्रालयले इरानी आक्रमणका कारण एउटा सरकारी संरचनामा लागेको आगो निभाइएको जनाएको छ। मन्त्रालयका अनुसार यस घटनामा कोही पनि हताहत वा घाइते भएका छैनन्।
अल जजीरा न्युजका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले पनि इरानबाट मिसाइल र ड्रोन आक्रमण भएको सूचना दिएको छ। यूएईको रक्षा मन्त्रालयले आफ्नो डिफेन्स सिस्टमले ती आक्रमणहरूलाई रोकिरहेको र आकाशमै नष्ट गरिरहेको जनाएको छ।
अर्कोतर्फ, इरान समर्थित लेबनानी सशस्त्र समूह हिज्बुल्लाहले इजरायलमाथि पनि ठूलो आक्रमण गरेको छ।
फार्स न्युज एजेन्सीका अनुसार हिज्बुल्लाहले इजरायलको राजधानी तेल अभिभस्थित इजरायली रक्षा मन्त्रालय (मिनिस्ट्री अफ वार) को मुख्यालयलाई नै निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ।
एकैपटक खाडीका मुख्य देशहरू र इजरायलमाथि भएको यस आक्रमणले मध्यपूर्वमा तनाव थप उचाइमा पुगेको संकेत गरेको छ।
चैत १२, २०८२ बिहीबार ११:१३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।