विदेशमन्त्री अब्बास अरागचीले भने- ‘इरान अहिले कुनै वार्ताको मुडमा छैन’
एजेन्सी : अमेरिका र इरानबीचको तनावपूर्ण सम्बन्धका बीच दुवै देशबाट परस्पर विरोधी दाबीहरू सार्वजनिक भएका छन्।
एकातिर इरानले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नभएको र अमेरिकी युद्धविराम प्रस्ताव लत्याएको बताएको छ भने अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान गोप्य रूपमा वार्ता गरिरहेको दाबी गरेका छन्।
इरानका विदेशमन्त्री अब्बास अरागचीले इरानी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अमेरिकाले पछिल्ला केही दिनयता विभिन्न मध्यस्थकर्ताहरूमार्फत सन्देश पठाइरहेको बताएका छन्।
मित्रराष्ट्रहरूका माध्यमबाट आएका ती सन्देशहरूको जवाफमा इरानले आफ्नो स्पष्ट स्थिति बताउँदै चेतावनीसमेत दिएको उनले प्रष्ट पारे।
‘यो न त कुनै वार्ता हो, न मोलमोलाइ हो, न त त्यस्तो अरू केही नै हो,’ विदेशमन्त्री अरागचीले भने, ‘इरानको नीति आफ्नो सुरक्षा गर्ने हो र अहिले अमेरिकासँग वार्ता गर्ने हाम्रो कुनै मनसाय छैन।’
उनले वर्तमान द्वन्द्वलाई लिएर भने, ’यो इजरायलको लडाइँ हो र यसको मूल्य अमेरिकाका साथै यस क्षेत्रका जनताले चुकाउनु परिरहेको छ।’
ट्रम्पको दाबी: ‘इरानी नेताहरू सत्य स्वीकार्न डराइरहेका छन्’
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको दाबीलाई खण्डन गरेका छन्। एक आर्थिक संकलन कार्यक्रममा बोल्दै ट्रम्पले इरानी नेताहरू अमेरिकासँग वार्ता गरिरहेको कुरा स्वीकार गर्न डराएको बताए।
इरानले अमेरिकासँगको सम्झौता अस्वीकार गरेको भन्ने भनाइलाई झुटो दाबी गर्दै ट्रम्पले भने, ‘उनीहरू वार्ता गरिरहेका छन्। इरान जुनसुकै मूल्यमा पनि सम्झौता गर्न चाहन्छ। तर, आफ्नै देशका जनताले मार्ने डरले उनीहरू यो कुरा बाहिर भन्न डराइरहेका छन्।’
ट्रम्पले थपे, ’उनीहरूलाई हामीले मार्छौं कि भन्ने डर पनि छ।’
अमेरिकी १५ बुँदे युद्धविराम प्रस्ताव अस्वीकार
यसअघि अमेरिकाले शान्ति स्थापनाका लागि १५ बुँदे युद्धविराम योजना अघि सारेको खबर बाहिरिएको थियो। तर, इरानले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गर्दै आफ्ना सर्तहरू अघि सारेको छ।
इरानको सरकारी टिभी च्यानल 'प्रेस टिभी'ले एक वरिष्ठ राजनीतिक-सुरक्षा अधिकारीलाई उद्धृत गर्दै इरानले अमेरिकी युद्धविराम प्रस्ताव नमानेको जनाएको छ।
नाम र पद खुलाउन नचाहेका ती अधिकारीले स्पष्ट रूपमा भनेका छन्, ‘इरानले आफ्नै सर्तमा मात्र यो युद्धको अन्त्य गर्नेछ।’
दुवै पक्षको यो वाकयुद्ध र आ-आफ्नै अडानले मध्यपूर्वको तनाव तत्कालै समाधान हुने सम्भावना न्यून देखिएको छ।
चैत १२, २०८२ बिहीबार ०८:१६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।