फेक रेस्क्युमा अर्बौँ ठग्ने ट्रिक : पर्यटकलाई बेकिङ सोडा, गाइडदेखि अस्पतालसम्मलाई कमिसन

फेक रेस्क्युमा अर्बौँ ठग्ने ट्रिक : पर्यटकलाई बेकिङ सोडा, गाइडदेखि अस्पतालसम्मलाई कमिसन

काठमाडौँ : हिमाली पदयात्रामा निस्किएका विदेशी पर्यटकलाई 'नक्कली बिरामी' बनाएर अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूबाट करोडौँ डलर ठगी गर्ने एउटा संगठित गिरोहको कार्यशैली अभियोग पत्रमार्फत सार्वजनिक भएको छ।

फेक रेस्क्यु प्रकरणमा उद्धार एजेन्सी, अस्पताल, हेलिकप्टर कम्पनी र ट्रेकिङ गाइडहरूको एउटा यस्तो 'नेक्सस' फेला परेको छ, जसले मानवीय संवेदनालाई पैसासँग साटेर अन्तराष्ट्रिय रुपमै देशकै बेइज्जत गरे।

यही जालोमा संलग्नहरूबारे विस्तृत अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनालाई मुख्य अभियुक्त ठहर्यायो। तर जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गर्दा भने ३२ जनालाई मात्रै अभियुक्त बनायो।

गाइडलाई 'कमिसन' र पर्यटकलाई 'सोडा'

अभियोग पत्रमा उल्लेख भएका विवरण अनुसार ठगीको पहिलो प्रारम्भ पदयात्रामा जाने 'गाइड' हरूबाट सुरु हुन्थ्यो।

केही ट्रेकिङ एजेन्सीले आफ्ना गाइडहरूलाई पहिल्यै पर्यटक बिरामी नभए पनि रेस्क्यु गर्न भनेर 'हेलिकप्टर बोलाउन' दबाब दिन्थे।

यसका लागि पर्यटकलाई लेक लाग्ने लक्षण देखाउन उनीहरूको पर्यटकको खानामा 'बेकिङ सोडा' मिसाउँथे। जब उनीहरूले बेकिङ सोडा मिसाएको खान खान्थे अनि पेट फुल्ने र झाडापखाला लाग्ने हुन्थ्यो। जब पर्यटक आत्तिन्थे अनि गाइडले तुरुन्तै 'उद्धार' को नाटक गर्दै रेस्क्युका लागि हेलिकप्टर बोलाउँथे।

अनुसन्धानमा यसका लागि एक जना पर्यटकलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाएबापत गाइडले ५ सयदेखि १ हजार डलरसम्म 'कमिसन' पाउँथे।

सेटिङमा हेलिकप्टर उडान

जब गाइडले हेलिकप्टरको माग्थे त्यहाँ 'एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्ट' जस्ता उद्धार एजेन्सीहरूको भूमिका सुरु हुन्थ्यो। उनीहरूले एउटै हेलिकप्टरमा ४-५ जना पर्यटकलाई सँगै ल्याउँथे। तर बीमा कम्पनीसँग रकम दाबी गर्दा भने प्रत्येक पर्यटकका लागि छुट्टाछुट्टै 'चार्टर उडान' गरेको नक्कली बिल भरपाई र 'मेनिफेस्ट' बनाइन्थ्यो।

त्यसमा वास्तविक उडान खर्चभन्दा दोब्बर-तेब्बर बढीको बिल बनाएर बीमा कम्पनीहरूलाई पठाइन्थ्यो र रकम असुलिन्थ्यो। त्यो रकम गाइडदेखि अस्पतालसम्म बाँडिन्थ्यो।

अस्पताल: जहाँ 'स्वस्थ' मान्छेलाई 'बिरामी' बनाइन्थ्यो

सद्दे पर्यटकलाई बिरामी बनाउन केही अस्पतालहरू नै संलग्न देखिए। त्यसमा प्रमुख देखिए स्वाकन, एरा र श्रीद्धि। नक्कली बिरामी बनाएर हेलिकप्टरबाट ल्याइएका पर्यटकलाई सिधै 'सेटिङ' गरिएका यीनै अस्पतालमा पुऱ्याइन्थ्यो।

त्यसपछि सुरु हुन्थ्यो परीक्षण। सामान्य थकान लागेका पर्यटकलाई पनि 'गम्भीर लेक लागेको' देखाउन सघन उपचार कक्ष आइसियुमा भर्ना गरिन्थ्यो।

अभियोग पत्रमा उल्लेख भए अनुसार बीमा रकम बढाउनकै लागि आवश्यक नभएका एमआरआई र सिटी स्क्यान जस्ता महँगा परीक्षणहरू जबरजस्ती गरिन्थ्यो।

बिरामी निको भइसकेपछि पनि बीमाको अधिकतम सीमासम्म रकम पुऱ्याउन पर्यटकलाई २-३ दिन थप अस्पताल राखिन्थ्यो।

'किकब्याक' (कमिसन) को बाँडफाँड

यो ठगीको सबैभन्दा सुनियोजित पक्ष रकमको भागबन्डा थियो। अस्पतालले बीमा कम्पनीबाट पैसा प्राप्त गरेपछि त्यसको ठूलो हिस्सा उद्धार एजेन्सीका सञ्चालकहरूलाई 'मार्केटिङ खर्च' वा 'कमिसन' को रूपमा फिर्ता गर्थे।

अभियोग पत्रमा उल्लेख भएअनुसार, मुक्ति पाण्डे र सुवास केसी जस्ता व्यक्तिहरूले अस्पतालबाट करोडौँ रुपैयाँ 'प्रि-कमिशन' र 'पोस्ट-कमिसन' का रूपमा बुझेका थिए। यो रकम हुन्डी वा नगदका माध्यमबाट व्यवस्थापन गरिन्थ्यो।

जब अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूले नेपालका बिलहरू शंकास्पद देखे, उनीहरूले नेपाललाई 'उच्च जोखिमयुक्त' क्षेत्रमा राखे।

यसले गर्दा वास्तविक पर्यटकहरूले नेपाल आउन महँगो बीमा तिर्नुपर्ने वा बीमा नै नपाउने अवस्था सिर्जना भयो, जसले नेपालको समग्र पर्यटन अर्थतन्त्रमा धक्का पुऱ्यायो।

उद्धार एजेन्सी अपराधको योजनाकार

उद्धार एजेन्सीका रूपमा परिचित कम्पनीहरू य अपराधको योजनाकार देखिए। यी कम्पनीहरूले नै बिरामी खोज्ने, सेटिङ मिलाउने र बीमा दाबी गर्ने मुख्य काम गर्थे।

त्यसमा एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्ट देखियो। यो ठगी जालोको 'अपरेसनल हेड' नै यही कम्पनी देखियो। यसले गाइडहरूसँग समन्वय गरी पर्यटकलाई कृत्रिम रूपमा बिरामी देखाउने र हेलिकप्टर मगाउने काम गर्थ्यो। यसले नै अस्पतालहरूसँग 'प्रि-कमिशन' सम्झौता गर्ने र बीमा कम्पनीबाट आएको रकमलाई विभिन्न च्यानलमा बाँडफाँड गर्ने गर्थ्यो।

अर्को देखियो माउन्टेन रेस्क्यु सर्भिस। विदेशी बीमा कम्पनीहरूसँग सिधै सम्पर्क गर्ने र उनीहरूलाई झुक्क्याएर नक्कली बिलहरू पेस गर्न यो सक्रिय देखियो। अभियोग पत्रमा यस कम्पनीले पर्यटकको अवस्थालाई भयावह देखाएर 'अप्रुभल' लिने गरेको उल्लेख छ।

अर्को कम्पनी देखियो नेपाल चार्टर सर्भिस उडानका विवरणहरू र बिलहरूलाई 'म्यानेज' गर्ने यसको मुख्य काम देखियो। एउटै उडानमा धेरै पर्यटक ल्याउँदा पनि छुट्टाछुट्टै चार्टर देखाएर कागजपत्र किर्ते गर्ने काममा यो संलग्न देखियो।

नक्कली उपचार र बिलिङ केन्द्रहरू

दोस्रो तहमा अस्पतालहरूले स्वस्थ पर्यटकलाई बिरामीको 'ट्याग' लगाउने र अत्यधिक महँगो बिल बनाउने भूमिका खेलेको अनुसन्धानमा खुल्यो।

त्यसमा स्वाकन इन्टरनेशनल अस्पतालले सबैभन्दा बढी लाभ लिने संस्थाको रूपमा देखियो। यहाँ भर्ना भएका पर्यटकको अनावश्यक 'मेडिकल प्रोटोकल' बनाएर बीमा दाबी गरिएको खुल्यो।

अस्पतालले प्राप्त गरेको उपचार खर्चको ५० देखि ७० प्रतिशतसम्म रकम उद्धार एजेन्सी (मुक्ति पाण्डे समूह) लाई फिर्ता गर्ने गरेको प्रमाण फेला परेको छ।

अर्को एरा इन्टरनेशनल अस्पताल। यसले पर्यटकलाई अनावश्यक रूपमा आइसियु र डिलक्स रुममा राख्ने गरेको थियो। सामान्य 'अल्टिच्युड सिकनेस' लाई 'सेरेब्रल इडिमा' (मस्तिष्कमा पानी जमेको) जस्तो गम्भीर रोगको रिपोर्ट बनाएर पठाउनमा यसका चिकित्सक संलग्न देखिए।

श्रीद्धि इन्टरनेशनल अस्पतालले कमिसन एजेन्टहरूसँग मिलेर नक्कली बिरामी भर्ना गर्ने र उनीहरूको ल्याब रिपोर्टहरूमा छेडछाड गर्ने गरेको खुल्यो।

ठगीको तेस्रो तहमा देखिए हेलिकप्टर र ट्रेकिङ एजेन्सीहरू। यी कम्पनीहरूले स्थलगत रूपमा अपराधलाई कार्यान्वयन गर्न सघाएका थिए। यसमा मनाङ एयर, एल्टिच्युड एयर लगायतका केही कर्मचारी र पाइलटहरूले 'फ्लाइट लग' र 'मेनिफेस्ट' मा उल्लेख गरिएको विवरणमा आँखा चिम्लिने वा मिलेमतो गर्ने गरेको देखियो। वास्तविक उडान समयभन्दा बढी समय देखाएर बिल बनाउन सहयोग गरेको समेत अभियोग पत्रमा उल्लेख छ।

यसमा ट्रेकिङ एजेन्सीहरूले आफ्ना गाइडहरूलाई "बिरामी नखोजे जागिर जाने" वा "रेस्क्यु गराए मोटो कमिसन दिने" प्रलोभन देखाएर पर्यटकलाई जबरजस्ती हेलिकप्टर चढ्न बाध्य पार्ने गरेका थिए।

एकै अस्पतालको खातामा ठगीको अर्बौँ रकम

अभियोग पत्रमा उल्लेख भए अनुसार विदेशी पर्यटकहरूको नक्कली उपचार र बढाइचढाइ गरिएको बिलिङमार्फत अस्पतालहरूले आफ्नो बैंक खातामा पैसा लिने गर्थे। त्यसमा स्वाकन इन्टरनेशनल अस्पतालले मात्र १ अर्ब ३ करोड ९८ लाख लिएको खुल्यो।

एरा इन्टरनेशनल अस्पतालको खातामा १५ करोड ५० लाख १० हजार ठगीको रकम आएको खुल्यो। श्रीद्धि इन्टरनेशनल अस्पताल को खातामा ६ करोड ३५ लाख ८८ हजार देखियो।

अस्पतालमा बिरामी भर्ना गराएबापत उद्धार एजेन्सीका सञ्चालकहरूले अस्पतालबाट कमिसन लिने गरेको खुल्यो।

त्यसमा एभरेस्ट एक्पिरियन्सका मुक्ति पाण्डेले  ७० लाख ८९ हजार रुपैयाँ अस्पतालहरूबाट सिधै कमिसनको रूपमा लिएको देखियो। उनको कम्पनीले बीमा कम्पनीहरूबाट पनि ठूलो रकम दाबी गरेको छ।

जयराम रिमालले २ करोड ७५ लाख ३८ हजार आपराधिक लाभ लिएको अभियोग पत्रमा उल्लेख छ। सुवास केसीले ५३ लाख ९६ हजार रुपैयाँ कमिसन बापत बुझेको देखिएको छ।

उद्धार कम्पनीको ठगी दुई अर्ब ६० करोड

उद्धार कम्पनीहरूले विदेशी बीमा कम्पनीहरूसँग कुल १ करोड ९६ लाख ९८ हजार २ सय ७९ अमेरिकी डलर (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ भन्दा बढी) बराबरको झुटा र अस्वाभाविक दाबी पेस गरेको अनुसन्धानले देखाएको छ।

यसमध्ये एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्टले मात्रै करिब १ करोड २९ लाख डलर भन्दा बढीको दाबी र कारोबार गरेको विवरणमा उल्लेख छ। नेपाल चार्टर सर्भिसले ४६ लाख ८१ हजार डलर बराबरको कारोबार र दाबी गरेको देखिएको छ।

ट्रेकिङ गाइडहरू र साना एजेन्टहरूले प्रति रेस्क्यु ५ सय देखि एक हजार अमेरिकी डलर सम्म नगद कमिसन बुझ्ने गरेको बयान र प्रमाणहरू अभियोग पत्रमा समावेश छ।

चैत ९, २०८२ सोमबार ००:३८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।