पोखरा विमानस्थल निर्माणमा दोस्रो भ्रष्टाचार मुद्दा: २१ व्यक्ति र २ कम्पनीविरुद्ध ४६ करोड बिगो दाबी
काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा परामर्शदाता नियुक्तिमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ।
अख्तियारले तत्कालीन पर्यटन सचिव, नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशकहरू र आयोजनाका अधिकारीहरू सहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै आइतबार मुद्दा दर्ता गरेको हो।
अख्तियारले दोस्रो मुद्दामा ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग दाबी गरेको छ। विमानस्थल निर्माणका क्रममा विभिन्न शीर्षकमा राजस्व छुट दिँदा र अन्य आर्थिक अनियमितता गर्दा राज्यलाई हानि पुर्याएको अख्तियारको जिकिर छ।
यसअघि पहिलो मुद्दा दायर गर्दा नै आयोगले राजस्व छुटलगायतका विषयमा अनुसन्धान जारी रहेको र छिट्टै अर्को मुद्दा आउने संकेत गरेको थियो। सोही अनुसार दोस्रो मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएका हाइप्रोफाइल व्यक्तिहरूको सूचीमा पूर्व सचिवदेखि प्राधिकरणका पूर्व प्रमुखहरू सम्म रहेका छन्। अख्तियारले नागरिक उड्डयनका तत्कालीन सचिव केदार बहादुर अधिकारी, प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम र राजन पोखरेल,तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, पोखरा क्षेत्रीय विमानस्थलका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मीलाई प्रतिवादी बनाएको छ।
साथै प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, निर्देशक स्व. ध्रुवदास भोछिभोया, प्रबन्धक चाँदमाला श्रेष्ठ, उपनिर्देशक प्रवीण न्यौपाने, निर्माणमा संलग्न चिनिया कम्पनी लगायतका प्राविधिक तथा लेखा कर्मचारीहरूलाई पनि प्रतिवादी बनाइएको छ।
चैत ८, २०८२ आइतबार १५:३०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।