कच्चा पदार्थको अभाव र मूल्यवृद्धिको चपेटामा एचडिपी पाइप उद्योग

कच्चा पदार्थको अभाव र मूल्यवृद्धिको चपेटामा एचडिपी पाइप उद्योग

काठमाडौं : विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएको अवरोध र भू-राजनीतिक तनावको प्रभाव नेपालका ‘हाईडेन्सीटी पोलिथिन’ पाइप उद्योगहरूमा देखिएको छ। 

हाइडेन्सीटी पोलिथिन पाइप म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गरेर कच्चा पदार्थको अभावमा केही उद्योगहरू बन्द भइसकेको र केही बन्द हुने अवस्थामा पुगेको जनाएको छ।

संघका अनुसार कच्चा पदार्थ (ग्रानुयल्स) को मूल्यमा करिब ६२ प्रतिशतको उच्च वृद्धि भएको छ। इन्धनको मूल्यवृद्धिका कारण बढेको ढुवानी खर्च र अमेरिकी डलरको विनिमय दरमा भएको बढोत्तरीले लागत झनै थपिएको संघको दाबी छ।

विषम परिस्थितिमा उद्योगीहरूले विभिन्न सरकारी तथा गैर-सरकारी निकायहरूसँग भएका निर्माण सम्झौता र बोलपत्रहरूमा आपसी समझदारीमा मूल्य र अवधि समायोजन गर्न माग गरेका छन्। साथै, बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा भुक्तानीमा लचकता अपनाउन र सरकारलाई अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कारबाही गर्न समेत संघले अपिल गरेको छ।

चैत ८, २०८२ आइतबार १३:२०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।