नेपालमा पहिलो पटक हाइब्रिड मोटरसाइकल भित्र्याउँदै यामाहा
काठमाडौं : नेपाली बजारमा पहिलो पटक हाइब्रिड प्रविधियुक्त मोटरसाइकल भित्रिने भएको छ। यामाहा नेपालले आफ्नो चर्चित 'एफजी' सिरिजअन्तर्गत स्मार्ट हाइब्रिड असिस्ट प्रणाली भएको नयाँ मोडल भित्र्याउन लागेको हो।
मोटरसाइकलमा १४९ सीसीको एयर-कुल्ड, फ्युल-इन्जेक्टेड इन्जिन जडान गरिएको छ, जसलाई 'स्मार्ट हाइब्रिड असिस्ट' प्रणालीले थप प्रभावकारी बनाएको छ।
परम्परागत इन्जिनमा इलेक्ट्रिक ब्याट्रीको सहायता प्रदान गर्ने यो प्रविधिले मोटरसाइकल स्टार्ट गर्दा र एक्सेलेरेसनको समयमा अतिरिक्त शक्ति प्रदान गर्दछ। यसबाट इन्धनको बचत हुनुका साथै उत्कृष्ट राइडिङ अनुभव प्राप्त हुने कम्पनीको दाबी छ।
करिब १३५ केजी तौल भएको यस मोटरसाइकलमा सुरक्षाका लागि फ्रन्ट डिस्क ब्रेकसँगै सिंगल-च्यानल 'एबीएस' र साइड स्ट्यान्ड इन्जिन कट-अफ स्विच समावेश गरिएको छ। आधुनिक फिचर्सका रूपमा यसमा एलइडी हेडलाइट, नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र वातावरणीय मापदण्ड अनुरूपको ई-२० इन्धन अनुकूलता रहेको कम्पनीको दाबी छ।
नेपालको भौगोलिक अवस्था र बढ्दो इन्धन कार्यक्षमताको मागलाई सम्बोधन गर्ने उद्देश्यले यो हाइब्रिड मोडल ल्याउन लागिएको यामाहाले जनाएको छ।
चैत ८, २०८२ आइतबार १३:०१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।