सानीमा माइत गएको बेला सानुबुबाद्वारा १६ वर्षीया छोरी बलात्कार, २२ दिनपछि आफन्तलाई भनेपछि अदालतमा मुद्दा
ललितपुर : ललितपुर जिल्ला अदालतमा एक ४२ वर्षीय पुरुषविरुद्ध १६ वर्षीया ‘छोरी’ पर्नेमाथि बलात्कार गरेको गम्भीर आरोप लागेको छ।
जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर गरेको अभियोगपत्रमा नाताले सानुबुबा पर्ने प्रतिवादीले हाडनाता करणी गरेको दाबी गरिएको छ। सरकारी वकीलले पीडक भनिएका सानुबुबाको नाम समेत गोप्य राखेको छ।
बुबाको मृत्युपछि पीडित नाबालिका पढाइका लागि ललितपुर महानगरपालिकामा सानीआमा र सानुबुबाको डेरामा बस्दै आएकी थिइन्। उनी एक निजी कलेजमा कक्षा ११ मा अध्ययनरत थिइन्।
आफ्नो घर र आमाबाट टाढा रहेकी उनले यहाँ केवल पढाइ मात्र गरिरहेकी थिइनन्, घरको सम्पूर्ण काम, साना भाइबहिनीको हेरचाह र अन्य सबै जिम्मेवारी पनि पूरा गरिरहेकी थिइन्।
घटना भएको बेला उनकी सानीआमा एक आफन्तको विवाहमा सहभागी हुन गाउँ गएकी थिइन्। घरमा केवल सानुबुबा, उनका दुई छोराछोरी र पीडित नाबालिका मात्र थिए। यही मौका छोपेर सानुबुबाले बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ।
अभियोगपत्रमा उल्लेख भएअनुसार, २०८२ साल माघ २० गतेको बिहान करिब ७:३० बजेको थियो। पीडित नाबालिका बिरामी भएका कारण कलेज नगई आफ्नो कोठामा सुतिरहेकी थिइन्।
सुरुमा प्रतिवादी उनको कोठामा पसे र ‘किन कलेज नगएको?’ भनी सोधे। पीडितले ‘बिरामी छु’ भन्ने जवाफ दिएपछि उनी कोठाबाट बाहिर निस्किए।
तर, करिब पाँच मिनेटपछि उनी पुनः पीडितको कोठामा फर्किए र भित्रबाट ढोकाको चुकुल लगाए। पीडितले आत्तिँदै सोधिन्, ‘किन ढोका बन्द गर्नुभएको?’ तर प्रतिवादीले कुनै जवाफ दिएनन्। उनी सीधै पीडितको नजिक आए र उनको इच्छाविपरीत जबरजस्ती कपडा सारेर बलात्कार गरे।
यस क्रममा पीडितले चिच्याउँदै प्रतिरोध गरिन्, तर प्रतिवादीले उनको मुख थुनिदिए र बोल्नै दिएनन्। आफ्नो अपराध गरिसकेपछि प्रतिवादीले पीडितलाई कठोर धम्की दिँदै भने, ‘यो कुरा कसैलाई भनिस् भने तँलाई मारिदिन्छु।’ यति भनेर उनी कोठाबाट बाहिर निस्किए।
घटनापछि पीडित नाबालिका डर, त्रास र अपमानको भारी बोकेर २२ दिनसम्म मौन बसिन्। ज्यान मार्ने धम्की र सामाजिक कलंकको डरले उनले आफ्नो पीडा कसैलाई सुनाउन सकिनन्।
उनलाई प्रतिवादीले फेरि त्यस्तै गर्नसक्छ भन्ने डरले उनी आफ्नी फुपु दिदीको कोठामा बस्न गएकी थिइन्, तर प्रतिवादीले फोन गरेर बोलाएपछि उनी डेरामै फर्कन बाध्य भइन्।
आखिर, २०८२ साल मंसिर १० गते उपचारको फलोअपका लागि पाटन अस्पताल गएकी थिइन्, त्यहीँ उनकी साइली काकी भेटिइन्। काकीले उनको मलिन अनुहार देखेर हालखबर सोध्ने क्रममा पीडितले आफूमाथि भएको सम्पूर्ण घटना रुँदै सुनाइन्।
यो सुनेर काकीले तत्कालै पीडितलाई आफूसँग लिएर गइन्। त्यसपछि परिवारमा छलफल भयो र माइली काकीलाई पनि घटनाको जानकारी दिइयो। परिवारको साथ पाएपछि पीडितले न्यायको ढोका ढकढक्याउने हिम्मत गरिन्।
माइली काकीले पीडितलाई साथमा लिई २०८२ मंसिर ११ गते प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दरखास्त दिइन्। जाहेरी परेको केही घण्टामै प्रहरीले प्रतिवादीलाई उनकै कोठाबाट पक्राउ गर्यो।
प्रतिवादीको अस्वीकार र विरोधाभासपूर्ण बयान
प्रहरी अनुसन्धानका क्रममा प्रतिवादीले घटनाको फरक कथा प्रस्तुत गरे। उनले पीडितले नै ढोका बन्द गर्न लगाएको र शारीरिक सम्पर्कका लागि वातावरण बनाएको बयान दिएका छन्। उनले आफूले मुख थुनेर धम्की नदिएको समेत दाबी गरेका छन्।
उनले पीडित आफ्नी जेठी सासुकी छोरी अर्थात् नातामा छोरीसरहकी हुन् भन्ने थाहा भएको स्वीकार गरे। उनले यो पनि स्वीकारे कि शारीरिक सम्पर्क भएपछि पीडितले अँध्यारो मुख लगाउने र आफूलाई हप्काउने गरेकी थिइन्।
उनको बयानले शारीरिक सम्पर्क भएको कुरा भने स्पष्ट रूपमा स्वीकार गरेको छ।
पाटन अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदनले पीडितको भनाइलाई बलियो चिकित्सकीय आधार प्रदान गरेको छ। प्रतिवेदनमा पीडितको यौनाङ्गमा चोटपटक देखिएको र ‘पीडितले दिएको विवरण र परीक्षणको निष्कर्ष मेल खाने’ उल्लेख छ।
यसैगरी, बाल मनोविमर्शकर्ताले तयार पारेको मनोसामाजिक अध्ययन प्रतिवेदनले घटनाले पीडितको कलिलो मस्तिष्कमा पारेको गहिरो चोटलाई उजागर गरेको छ। प्रतिवेदनअनुसार, सानैमा बुबा गुमाएकी र आमाबाट टाढा बस्नुपरेका कारण उनी पहिलेदेखि नै केही मनोसामाजिक समस्याबाट गुज्रिरहेकी थिइन्।
तर, यो घटनापछि उनमा गम्भीर मनोवैज्ञानिक लक्षणहरू देखापरेका छन्- जस्तै, प्रतिवादी पछाडि आएर उभिएको हो कि भन्ने निरन्तर डर, छटपटाहट र झस्किने समस्या। समयमै उचित मनोपरामर्श र पारिवारिक सहयोग नपाएमा उनको मानसिक स्वास्थ्य थप बिग्रिने जोखिम रहेको प्रतिवेदनमा औँल्याइएको छ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले दायर गरेको अभियोगपत्रमा प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (जबरजस्ती करणी) र दफा २२० (हाडनातामा करणी) अन्तर्गतको गम्भीर कसूर गरेको ठहर गरिएको छ।
घटनाको समयमा पीडित १६ वर्ष ७ महिनाकी भएकाले दफा २१९(३)(घ) अनुसार दशदेखि बाह्र वर्षसम्म कैद सजायको माग गरिएको छ। साथै, हाडनातामा करणी गरेको थप कसूरमा दफा २२०(२)(घ) बमोजिम एकदेखि तीन वर्षसम्म थप कैद र जरिवानाको माग गरिएको छ।
चैत ७, २०८२ शनिबार १२:००:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।