मध्यपूर्वमा तनाव बढ्यो : इजरायलमाथि इरानको क्षेप्यास्त्र प्रहार, इराकमा अमेरिकी शिविरमा आक्रमण
काठमाडौं : मध्यपूर्वमा तनाव झनै चर्किएको छ। एकातिर इरानले इजरायलमाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ भने अर्कोतिर इराकमा रहेका अमेरिकी अखडाहरूमा शृङ्खलाबद्ध आक्रमण भएका छन्।
यसैबीच, युद्धका कारण आकासिएको इन्धनको मूल्य नियन्त्रण गर्न अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाएको छ।
इजरायली रक्षा बल (आईडीएफ) ले इरानले आफ्नो भूमिमा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। आईडीएफका अनुसार ती क्षेप्यास्त्रहरू पहिचान गरिसकिएको छ र इजरायलको हवाई रक्षा प्रणालीले त्यसलाई आकाशमै नष्ट गर्न काम गरिरहेको छ।
खतरा बढेसँगै इजरायली सेनाले सम्बन्धित क्षेत्रका नागरिकहरूको मोबाइल फोनमा अलर्ट पठाएको छ। सेनाले नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा जान र अर्को स्पष्ट सूचना नआएसम्म बाहिर ननिस्कन कडा निर्देशन दिएको छ।
यता इराकमा रहेको ‘इस्लामिक रेसिस्टेन्स’ नामक सशस्त्र समूहले पछिल्लो २४ घण्टामा इराक र सो क्षेत्रका दुश्मनका अखडाहरूमा दर्जनौँ ड्रोन र मिसाइलसहित २७ वटा आक्रमण गरेको दाबी गरेको छ।
समाचार एजेन्सी एएफपीका अनुसार बगदाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सैनिकहरू बस्ने कुटनीतिक तथा लजिस्टिक केन्द्रमा कम्तीमा तीनवटा ड्रोन आक्रमण भएका छन्।
तेस्रो आक्रमणपछि त्यहाँ आगो लागेको एक अधिकारीले पुष्टि गरेका छन्। यसअघि गत साता र केही दिन अगाडि पनि बगदादस्थित अमेरिकी दूतावासमा कैयौँ पटक रकेट र ड्रोन आक्रमण भएका थिए।
मूल्य घटाउन इरानी तेल बजारमा पठाइँदै
युद्ध र मध्यपूर्वका ऊर्जा पूर्वाधारमा भएका लगातारका आक्रमणका कारण विश्वबजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ।
‘ब्रेन्ट क्रुड आयल’को मूल्य प्रतिब्यारेल करिब ११२ डलर पुगेको छ। यो मूल्य गत शुक्रबार मात्रै ३ प्रतिशतले बढेको थियो भने गत वर्षको तुलनामा ५३ प्रतिशतले वृद्धि भइसकेको छ।
यही महँगी नियन्त्रण गर्न अमेरिकी अर्थ मन्त्रालयले हाल समुद्रमा (पानीजहाजमा) रहेको इरानी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ। यो निर्णयसँगै ती तेल अन्य देशले किन्न पाउनेछन्।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै यो छुटबाट करिब १४ करोड ब्यारेल इरानी तेल विश्वबजारमा आउने बताएका छन्।
उनले यो छुट हाल बाटोमा रहेको तेलका लागि मात्र भएको र इरानले नयाँ उत्पादन वा थप बिक्री गर्न भने नपाउने स्पष्ट पारेका छन्।
अर्थमन्त्री बेसेन्टले भनेका छन्, ‘हामी तेलको मूल्य घटाउन इरानकै तेल उसैको विरुद्ध प्रयोग गर्दैछौँ। यो बिक्रीबाट आउने पैसा इरानको हातमा पर्न निकै गाह्रो हुनेछ।’
चैत ७, २०८२ शनिबार ०९:०४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।