ऊर्जा संकटको मारमा भारतमा रहेका नेपाली मजदुर, रोजगारी गुमेपछि घर फर्किन विवश
सुदूरपश्चिम : विश्व राजनीति र पश्चिम एसियामा जारी तनावका कारण सिर्जित इन्धन संकटको प्रत्यक्ष असर भारतमा श्रम गरिरहेका नेपाली मजदुरहरूमा पर्न थालेको छ। भारतमा खाना पकाउने ग्यासको तीव्र अभाव भएपछि त्यहाँका होटल तथा व्यवसायहरू बन्द हुने स्थितिमा पुग्दा रोजगारी गुमाएर सुदूरपश्चिमका सयौं नेपाली मजदुरहरू यतिबेला स्वदेश फर्किन बाध्य भएका छन्।
कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी लगायतका सीमानाकामा यतिबेला भारतका विभिन्न सहरबाट काम छोडेर फर्किनेहरूको संख्या बढ्दो छ। विशेष गरी मुम्बई, पुना लगायतका सहरका होटलमा कार्यरत नेपालीहरू ग्यास अभावले व्यवसाय ठप्प भएपछि बेरोजगार बनेर घर फर्किरहेका छन्।
कैलालीको नेपाल-भारत सीमानाका त्रिनगरमा भेटिएका डोटीका रोशन खड्काले ग्यास अभावले आफू कार्यरत होटल बन्द हुने अवस्थामा पुगेपछि स्वदेश फर्किएको बताए। “खाने र बस्ने सुविधा होटलमा थियो,” भारतको मुम्बईबाट स्वदेश फर्किँदै गरेका उनले भने, “ग्यास अभावले होटल बन्द गर्ने तयारी भयो, बेरोजगार हुने अवस्था आएपछि स्वदेश फर्किएँ।”
सीमानाकामा भेटिएका विजय बिकले एकातिर ग्यास अभावले पूरै समय होटल नचल्ने गरेको र अर्कातिर ‘बिसु’ पर्व पनि नजिकिँदा यस वर्ष छिटो घर फर्किनुपरेको बताए। उनले भने, “बिसु पर्व पनि आइरहेको छ, चैत अन्तिमतिर घर फर्किने सोच भए पनि आफूले काम गर्ने होटल ग्यास अभावमा बन्द हुने अवस्थामा पुगेकाले फर्किएको हुँ।”
बिकका अनुसार सुदूरपश्चिम प्रदेशमा बिसु पर्वलाई नयाँ वर्ष आरम्भका रूपमा मनाइन्छ। उनले खाना पकाउने ग्यासको अभावले होटलमा मजदुरी गर्ने नेपाली सबैभन्दा बढी प्रभावित भइरहेका बताए।
भारतको पुनामा रहेका डोटीका महेश भट्टले ग्यास अभावले रोजगारीका लागि भारत गएका नेपालीहरू समस्यामा परेका बताए। “खासगरी होटल व्यवसायमा रोजगारी गरिरहेका अधिकांश नेपाली बेरोजगार हुने अवस्था छ,” उनले भने, “होटल व्यवसायका साथै अन्य क्षेत्रमा मजदुरी गर्ने नेपाली बढी प्रभावित हुने गरेका छन्।”
पश्चिम एसिया क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भएपछि भारतमा इन्धन र खाना पकाउने ग्यासको वितरणमा कडाइ गरिएको त्यहाँबाट फर्किएका नेपालीको भनाइ छ। भारतमा ठूलो सङ्ख्याका नेपाली विभिन्न क्षेत्रमा रोजगारी गर्दै आएका छन्। सुदूरपश्चिमेलीको रोजगारीका लागि पहिलो गन्तव्य भारत हो।
यसैबीच, खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थालाई लक्षित गरेर पछिल्ला दिनमा कैलालीका बजार क्षेत्रमा अनुगमन भइरहेको छ। जिल्लास्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख लक्ष्मीप्रसाद जैशीले अनुगमनका क्रममा कैलालीसहित आसपासका जिल्लामा अहिलेसम्म खाना पकाउने ग्यास अभाव नरहेको जानकारी दिए।
टोलीले कैलालीको धनगढी, टीकापुर, लम्की, अत्तरिया र कञ्चनपुरको पुनर्वास, बेलौरीलगायत क्षेत्रमा बजार अनुगमन गरेको छ। उनले भने, “डिजेल, पेट्रोलको आपूर्ति व्यवस्था आजसम्म सहज छ। खाना पकाउनका लागि आधा सिलिन्डर ग्यास बिक्री गर्नुपर्ने सरकारी नीतिबमोजिम सबैतिर आधा सिलिन्डर प्रयोग भइरहेको छ।”
चैत ६, २०८२ शुक्रबार २२:०९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।