मुस्ताङमा छैटौं पटक हिमपात, मुक्तिक्षेत्रदेखि लोमान्थाङसम्म सेताम्मे

मुस्ताङमा छैटौं पटक हिमपात, मुक्तिक्षेत्रदेखि लोमान्थाङसम्म सेताम्मे

मुस्ताङ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा शुक्रबार दिउँसोदेखि सुरु भएको भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ। मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौं पटक हिमपात भएको हो।

वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथ क्षेत्रका निरन्तर रूपमा भारी मात्रामा हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। हिमपातसँगै मुक्तिनाथ मन्दिर क्षेत्र आसपासका डाँडाकाँडा हिउँले सेताम्मे भइसकेको व्यवस्थापक भुसालले बताए।

मुक्तिनाथ मन्दिरमा बिहानीपख बढी मात्रामा दर्शनार्थी हुने गरेको र हिमपात केहीबेर अघि मात्रै सुरु भएकाले दर्शनार्थीलाई खासै समस्या नपरेको उनको भनाइ छ। हिमपातका कारण चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवन प्रभावित भएको व्यवस्थापक भुसालले जानकारी दिए।

त्यसैगरी, मुक्तिनाथ क्षेत्रको मुक्तिनाथ, रानीपौवा, झारकोट, खिङ्गा, छेङ्गुर, पुडाक र झोङलगायतका स्थानमा बाक्लो हिमपात भइरहेको जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए। “मुक्तिक्षेत्रमा दिउँसोदेखि हिउँ पर्न थालेको छ, हिउँले मुक्ति क्षेत्र पूरै सेताम्मे भइसकेको छ,” उनले भने, “रातभरि हिउँ परेमा दुई फिट बढी हिउँ जम्ने देखिन्छ, हिउँले सडकसमेत अवरुद्ध हुनसक्ने सम्भावना छ।”

त्यसैगरी, माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि दिउँसोदेखि हिमपात भइरहेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए। हिमपात नरोकिएमा माथिल्लो मुस्ताङका सबै भाग हिउँले ढाकिने बताए। हिमपातसँगै माथिल्लो मुस्ताङमा चिसो बढेका कारण स्थानीयको दैनिकीमा प्रतिकूल असर पुर्याएको एक्याप प्रमुख पौडेलको भनाइ छ।

त्यस्तै, मुस्ताङका तल्लो क्षेत्र थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिका क्षेत्रका उच्चलेकमा आंशिक हिमपात भइरहेको र बस्ती क्षेत्रमा दिउँसोदेखि निरन्तर वर्षा भइरहेको जनाइएको छ।

चैत ६, २०८२ शुक्रबार २०:०३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।