कांग्रेस हारबारे विश्वप्रकाशको प्रतिवेदनमा औँल्याएको आन्तरिक कारण : साइलेन्स किलिङ र स्याबोटेज

कांग्रेस हारबारे विश्वप्रकाशको प्रतिवेदनमा औँल्याएको आन्तरिक कारण : साइलेन्स किलिङ र स्याबोटेज

काठमाडौँ : नेपाली कांग्रेसले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको पराजयको विस्तृत समीक्षा गर्दै नसुध्रिएको नेतृत्व र आन्तरिक रूपमा साइलेन्स किलिङ र स्याबोटेजलाई देखाएको छ। केन्द्रीय निर्वाचन परिचालन समिति प्रमुखको रूपमा उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनमा हारको कारण पार्टीको विशेष महाधिवेशन नभएको उल्लेख छ।

पराजयलाई 'अप्रत्याशित' नभई 'लामो समयदेखि जमेर बसेको नागरिक असन्तुष्टिको विस्फोट' को रूपमा व्याख्या गर्दै प्रतिवेदनमा पार्टीको आन्तरिक कमजोरी, नीतिगत विचलन र नागरिक असन्तुष्टिलाई पराजयको मुख्य आधार मानेको छ।

प्रतिवेदनले पराजयका कारणहरू बुँदागतसहित व्याख्या गरिएको छ। शर्माको प्रतिवेदनमा विगत ३४ वर्षमा २५ वटा सरकार बन्नु र 'सरकार नयाँ तर प्रधानमन्त्री पुराना' भइरहने प्रवृत्तिले नागरिकमा तीव्र वितृष्णा पैदा गरेको उल्लेख छ।

एमालेसँगको अपारदर्शी गठबन्धन र सरकारमा सहभागी हुँदा प्रतिपक्षी स्वर कमजोर हुनुलाई कांग्रेसले ठूलो गल्ती मानेको छ। संसदमा प्रतिपक्षी स्थान रिक्त हुँदा सडकमा 'जेनजी' विद्रोह र नयाँ शक्तिहरूको उदय भएको स्वीकार गरिएको छ।

पार्टीमा 'काम गर्ने तर प्रचार गर्न नसक्ने' पुरानो छवि कायमै रहेको र कांग्रेसका ऐतिहासिक उपलब्धिहरू (शान्ति प्रक्रिया, संविधान निर्माण, विकास) नयाँ पुस्तालाई बुझाउन नसकिएको प्रतिवेदनमा उल्लेख छ।

उम्मेदवार चयनमा चित्त नबुझाएका नेताहरूले 'मौन' बसेर वा सक्रिय रूपमै 'स्याबोटेज' (अन्तर्घात) गरेर पार्टीलाई हराउन भूमिका खेलेको र त्यस्ता व्यक्तिहरू अनुशासनको दायरामा आउने चेतावनी दिइएको छ।

तीन किस्तामा प्रकट भएको असन्तुष्टि

कांग्रेसले फागुन २१ मा मतमार्फत प्रकट भएको नागरिक असन्तुष्टि एकै पटक नभई तीन चरणमा प्रकट भएको विश्लेषण गरेको छ। प्रतिवेदनमा पहिलो असन्तुष्टि २०७९ को स्थानीय निर्वाचन (काठमाडौँ, धरान र धनगढीमा स्वतन्त्रको विजय) मा देखिएको उल्लेख छ।

दोस्रो असन्तुष्टि २०७९ को संघीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबाट देखिएको र तेस्रो असन्तुष्टि भदौ २३/२४ को 'जेनजी' विद्रोह मार्फत देखिएको उल्लेख छ। यी तीन कारण नागरिक तहको असन्तुष्टि फागुन २१ को चुनावमा कांग्रेस विरुद्धको मतमा परिणत भएको प्रतिवेदनको निष्कर्ष छ।

'श्रीलङ्का बन्ने त्रास' र आर्थिक मनोविज्ञान

प्रतिवेदनले नेपाल पनि श्रीलङ्का जस्तै आर्थिक संकटमा फस्दैछ भन्ने भाष्यलाई चिर्न नसक्नुलाई पनि पराजयको एउटा कारण मानेको छ। "देश डुब्दैछ भन्ने भ्रमको मानसिकता सुषुप्त रूपमा कयौँको मनमा बसेको थियो, जसलाई हामीले आशामा बदल्न सकेनौँ," प्रतिवेदनमा उल्लेख छ।

परम्परागत शैली र संरचनाले नवीन चुनौती सामना गर्न नसक्ने भन्दै कांग्रेसले अब संगठनको शैलीमा सुधार गर्न समेत प्रस्ताव गरिएको छ। त्यसमा पार्टीका भ्रातृ संस्थाहरूको समयमै महाधिवेशन र पुनर्संरचना गर्नुपर्ने, क्रियाशील सदस्यताको वितरणमा सङ्ख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने, डिजिटल प्लेटफर्म (टिकटक, युट्युब) मा पार्टीको उपस्थितिलाई बलियो बनाउने र 'लगानीको बीउ' जस्ता नयाँ आर्थिक एजेन्डाहरू अघि सार्ने उल्लेख छ।

'नीति सफल, नतिजा असफल'

प्रतिवेदनमा निर्वाचनमा पराजित भए पनि कांग्रेसले आफ्नो मूल नीतिको विजय भएको दाबी गरेको छ। वर्तमान संविधान, संघीयता, संसदीय प्रणाली र उदार अर्थतन्त्र नै देशको मूल मार्ग बनेको र यसमा सबै दलहरू सहमत हुनु कांग्रेसको वैचारिक जित भएको प्रतिवेदनमा उल्लेख छ।

उपसभापति शर्माले प्रतिवेदनको अन्त्यमा लेखेका छन् "हामी हिसाब खोज्दैछौँ, विशेष महाधिवेशनपछिको ५० दिनमा परिणाम किन आएन? तर, यो ५० दिनले पार्टीमा 'नवीन रक्तसञ्चार' भने पक्कै गरेको छ। अब नयाँ सङ्कल्पका साथ अघि बढ्नुको विकल्प छैन।"

चैत ६, २०८२ शुक्रबार १८:१८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।