लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु भयो एमआरआई सेवा

लुम्बिनी प्रादेशिक अस्पतालमा सुरु भयो एमआरआई सेवा

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवाको सुरु गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पतालको ११६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उक्त सेवाको उद्घाटन गरेका हुन्। 

लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको छ। सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको जनाइएको छ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई थप उचाइमा पुर्याउन प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए। विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उनले स्पष्ट पारे।

शुक्रबार बुटवलमा आयोजित वार्षिकोत्सव उद्घाटन कार्यक्रममा उनले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए।

"प्रादेशिक अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर लैजाने योजना छ। त्यसमा हामीले ध्यान दिएका छौं," उनले भने, "यसलाई नमुना अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ। सबैको साझा प्रयासबाट आमूल परिवर्तन सम्भव भएको छ। समन्वय र सहकार्यकै कारण अस्पताल यहाँसम्म आइपुगेको हो।"

प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले सेवाग्राहीले सस्तो र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए।

"एमआरआई मेसिन  भएपछि सेवाग्राहीले अब सस्तो र सुलभ ढंगले सेवा लिन पाउने अवसर प्राप्त भएको छ। गोरखपुर वा काठमाडौं जानू पर्ने बाध्यताको अन्त्य भएको छ," उनले भने, "एक हजार दुई सय शैयाको अस्पताल निर्माणको काम अघि बढेको छ। २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ। तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना छ।"

स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्था समेत गरिसकेको उल्लेख गर्दै उनले जिम्मेवारीपूर्वक सेवा प्रवाह गरिरहेकोमा धन्यवाद व्यक्त गरे। साथै, अझ सक्रिय र समर्पित भएर जनसेवामा लाग्न आग्रह गरे।

चैत ६, २०८२ शुक्रबार १५:३०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।