बालेनको नेतृत्वमा सरकार गठन गर्न तयारी सुरु, चैत १३ मा शपथ

बालेनको नेतृत्वमा सरकार गठन गर्न तयारी सुरु, चैत १३ मा शपथ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठनको प्रक्रिया सुरु गरेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएलगत्तै रास्वपाका शीर्ष नेताहरू नयाँ सरकारको खाका र कार्यतालिका निर्माणमा जुटेका थिए।

बिहीबार काठमाडौंको रोयल सिंगी होटलमा बसेको रास्वपाका शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'को नेतृत्वमा सरकार गठन गर्ने र चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने सहमति जुटेको छ।

उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते हुनेछ। भोलिपल्ट १३ गते प्रधानमन्त्रीको शपथ हुने छ। बैठकमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डीपी अर्याल र  वाग्ले सहभागी थिए। 

सरकार गठनसँगै मन्त्रिपरिषद्को विस्तारबारे पनि प्रारम्भिक छलफल सुरु भएको छ। अर्थ मन्त्रालयमा वाग्ले, गृहमा अर्याल र परराष्ट्र मन्त्रालयमा शिशिर खनालको नाम चर्चामा छ। यद्यपि, मन्त्रिपरिषद्को पूर्ण आकार र जिम्मेवारी बाँडफाँटबारे अन्तिम निर्णय हुन बाँकी रहेको छ।

वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गर्न रास्वपाले आफ्नो विधान संशोधनको प्रक्रिया पनि अघि बढाउने भएको छ। निर्वाचनअघि नै रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो। १८२ सिटसहित बहुमत प्राप्त गरेको रास्वपाले आफ्नो नेतृत्वमा सरकार बनाउन तयारी थालेको हो। 

 

चैत ५, २०८२ बिहीबार २३:५६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।