जुम्ला र मुगु पुगेर प्रधानमन्त्रीले भनिन्- ‘निर्वाचन सफल पार्ने सबैलाई धन्यवाद’
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गरिन्।
बिहीबार कर्णालीमा पुगेर निर्वाचनमा सहयोग पु्र्याउन सबैलाई धन्यवाद दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। उनी निर्वाचनपूर्वको निरीक्षण भ्रमणमा कर्णाली पुग्न सकेकी थिइनन्।
कार्की बिहीबार बिहान मुगु जिल्लाको रारा पुगेको थिइनन्। त्यहाँ जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरिन्। त्यसपछि उनी जुम्लाको खलङ्गा पुगेर जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरिन्। सोही क्रममा उनले सीमित स्रोतसाधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा गरिन्।
उनले स्थानीय बासिन्दासँग पनि भेटघाट तथा अन्तरक्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरिन्। कार्कीले भनिन्, “देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ, यसको श्रेय सम्पूर्ण नेपाली जनतालाई जान्छ।”
यसै क्रममा, कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन पनि गरिन्। विसं २०३७ मा स्थापना भएको उक्त संस्थालाई नेपालकै पहिलो प्राविधिक शिक्षालयमध्ये एक मानिन्छ। विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाले प्रधानमन्त्रीलाई लालीगुराँस दिएर स्वागत गरेका थिए।
कार्कीको यो भ्रमणको मुख्य उद्देश्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्नुका साथै छोटो कार्यकालमा सरकारलाई प्राप्त जनसमर्थनप्रति कृतज्ञता प्रकट गर्नु रहेको प्रेस सल्लाहकार रावलले बताए।
चैत ५, २०८२ बिहीबार १९:४४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।