पर्सामा श्रीमतीको खुट्टा काटेर श्रीमान् फरार

पर्सामा श्रीमतीको खुट्टा काटेर श्रीमान् फरार

पर्सा : पर्साको पर्सागढी नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि अमानवीय हिंसा गरेका छन्।

पर्सागढी–३ बिरुवा टोल बस्ने ३० वर्षीय विशनाथ सहनीले श्रीमती हरिकलादेवी सहनीमाथि धारिलो हतियार ‘दाउ’ प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।

गत चैत १ गते भएको सो आक्रमणमा हरिकलादेवीको बायाँ खुट्टाको पैतालाभन्दा माथिको भाग झन्डै छिनेको अवस्थामा छ। गम्भीर घाइते भएकी सहनीको हाल बाराको सिमरास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

घटना भएको चार दिन बितिसक्दा पनि प्रहरीले अभियुक्त विशनाथ सहनीलाई पक्राउ गर्न सकेको छैन। पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार अभियुक्त जङ्गलतर्फ फरार भएको सूचनाका आधारमा खोजी कार्य तीव्र पारिएको छ।

‘‘अभियुक्त जङ्गलतर्फ फरार भएको सूचनाको आधारमा खोजी तीव्र पारिरहेका छौँ,’’ उनले भने, ‘‘अहिलेसम्म पक्राउ परिसकेका छैनन्।’’ 

पर्सा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुशीलकुमार कानुले घाइते महिलाको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। पीडितको आर्थिक अवस्था कमजोर भएकाले उपचार र कुरुवा खर्च समेत प्रबन्ध गर्ने उनले बताएका छन्।

सांसद कानुले दोषीमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।

चैत ५, २०८२ बिहीबार १८:१६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।