सडक सङ्केत बोर्ड राख्न ढिलाइ भएपछि ट्राफिक प्रहरी आफैँ कोदालो र खन्ती बोकेर सडकमा

सडक सङ्केत बोर्ड राख्न ढिलाइ भएपछि ट्राफिक प्रहरी आफैँ कोदालो र खन्ती बोकेर सडकमा
फाइल तस्बिर

धादिङ : त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–नौबिसे सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगे पनि सडक सुरक्षाका सङ्केत (ट्राफिक बोर्ड) नहुँदा दुर्घटनाको जोखिम बढेको छ।

सडक विभाग र निर्माण कम्पनीले बोर्ड राख्न ढिलाइ गरेपछि ट्राफिक प्रहरी आफैँ कोदालो र खन्ती बोकेर जोखिमपूर्ण स्थानमा ट्राफिक सचेतनासम्बन्धी सूचना (बोर्ड) राख्न थालेका छन्। 

सडक विस्तारपछि ओरालो, उकालो र खतरनाक घुम्तीको पहिचान दिने बोर्ड नहुँदा चालक झुक्किने र दैनिकजसो सानाठूला दुर्घटना भइरहेका छन्।  सडक सङ्केत राख्न अझै केही समय लाग्ने देखिएपछि ट्राफिक प्रहरीले जोखिमपूर्ण स्थान र अप्ठ्यारा घुम्तीमा आफ्नै पहलमा सचेतना बोर्ड राख्न सुरु गरेको हो ।

सडक कालोपत्र भएर फराकिलो र चिल्लो बने पनि सडक सुरक्षाका आवश्यक सङ्केत राखिनसकेकाले दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरी आफैँ बोर्ड गाड्न खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए। उनका अनुसार बुधबार मात्रै टोलीले नौबिसे-मलेखु खण्डका १३ वटा अतिजोखिमपूर्ण स्थानमा यस्ता बोर्ड राखेको छ।

बजेट अभावका कारण ज्यालामा कामदार लगाउन कठिन भएपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरी आफैँले कोदालो चलाएर खाल्डो खनेका प्रहरी निरीक्षक थापाले बताए। सेतो टोपी र पेटी बाँधेर सडकमा उभिने प्रहरी बोर्ड गाड्नका लागि खाल्डो खनिरहेको देख्ने स्थानीयले ट्राफिक प्रहरीले सम्मानयोग्य काम गरेको भन्दै प्रशंसा गरेका छन्। 

“सडक विभाग र निर्माण कम्पनीले सडक सुरक्षाका प्राविधिक काम पूरा गरिनसकेको अवस्थामा प्रहरीको यो अग्रसरताले यात्रु र चालकलाई ठूलो राहत मिल्नेछ”, गल्छीका स्थानीय जगन्नाथ खतिवडाले भन्नुने। उनका अनुसार यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर ट्राफिक प्रहरीले पहिला पनि ठूला दुर्घटना भएका र अहिले दुर्घटनाको उच्च जोखिम रहेका क्षेत्र पहिचान गरी सचेतना बोर्ड राखेको हो। 

“सडकको नयाँ संरचना बन्ने क्रममा पुराना सङ्केत बोर्ड उखेलिएका छन्, जसले गर्दा चालकलाई सडकको अवस्था बुझ्न कठिन भएको छ”, प्रहरी निरीक्षक थापाले भन्नुभयो, “दुर्घटना रोक्ने प्रयासस्वरूप हामी आफैँ कार्यक्षेत्रमा खटिएर यी बोर्ड गाडिरहेका छौँ ।”

सडक विस्तारसँगै सडक सुरक्षाका पूर्वाधार पनि उत्तिकै आवश्यक हुन्छन् । भौतिक रूपमा सडक सम्पन्न भए पनि सङ्केत बोर्डको अभावमा देखिने रिक्ततालाई ट्राफिक प्रहरीको यो सक्रियताले केही हदसम्म भए पनि कम गरेको स्थानीय बताउँछन् । 

चैत ५, २०८२ बिहीबार १६:५४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।