चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
चितवन : चितवनमा रगतको चरम अभाव भएको छ। अस्पतालहरुमा रगतका अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल गरेको छ।
शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीहरुको उपचारका लागि समेत रगतको अभाव भएकाले रक्तदान गर्नका लागि अपिल गरिएको छ। निर्वाचन पछि रक्तदानका कार्यक्रमहरु नहुँदा जिल्लामा रगतको अभाव भएको अपिलमा उल्लेख छ। अहिले जिल्लामा दैनिक १५० हाराहारी यूनिट रगतको माग हुने गरेको छ।
रक्तदानका कार्यक्रमहरु न्यून मात्र भएपछि माग अनुसार रगत पूर्ती हुन नसकेको हो। शाखाले यहाँ संञ्चालन गरेको प्रादेशीक रक्तसञ्चार केन्द्र भरतपुरमा र ठूला अस्पतालहरुमा रहेका इकाईहरुमा बिरामीका आफन्तहरु आएर रक्तदान गर्ने गरेका छन्। बाहिरबाट आएका बिरामीहरुको उपचार रगतका कारण रोकिन थालेको छ।
केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार अहिले केन्द्रमा रगत नहुँदा बिरामीका आफन्त र स्वयमसेवी रक्तदाताहरुको सहयोगमा रगतको मागपूर्तीको प्रयास गरिदैं आईएको छ।
यहाँ रहेका ठूला दुई मेडिकल कलेज, भरतपुर अस्पताल, क्यान्सर अस्पताल सहितका शल्यक्रिया हुने अस्पतालमा रगतको अभाव हुँदा आकस्मिक रुपमा समेत रगत पुर्याउन कठिन भएको उनले बताए। क्यान्सरका बिरामीहरुलाई धेरै रगतको आवश्यक पर्दछ।
यस्तै सुत्केरी र दुर्घटनाका घाइते सहितलाई गरिने शल्यक्रियाका क्रममा रगतको आवश्यक हुने गर्दछ। रक्तदानका कार्यक्रमहरु नगर्दा पनि रगतको अभाव भएको केन्द्रका प्रमुख पौडेलले बताए।
चैत ५, २०८२ बिहीबार १३:१७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।