‘धुरन्धर’को क्रेज थाम्न नसक्दा क्यूएफएक्स सिनेमाजको सर्भर ‘थुचुक्कै’

‘धुरन्धर’को क्रेज थाम्न नसक्दा क्यूएफएक्स सिनेमाजको सर्भर ‘थुचुक्कै’

काठमाडौं : आफूलाई नेपालकै ठूलो सिनेमा चेन दाबी गर्ने क्यूएफएक्स सिनेमाको सिस्टम डाउन भएको छ।

बहुप्रतिक्षित हिन्दी फिल्म ‘धुरन्धर: द रिभेन्ज’को बुकिङ सम्हाल्न नसक्दा क्यूएफएक्सको डिजिटल सिस्टम बिहीबार बिहानैदेखि ‘थला’ परेको हो।

फिल्म ‘धुरन्धर’ नेपालमा लाग्ने कुरा बुधबार मात्र पक्का भएको थियो। बेलुकीदेखि हलहरूले बुकिङ त खोले। तर यो फिल्म हेर्न दर्शकहरू यतिसम्म ओइरिए कि क्यूएफएक्सको सर्भरले थाम्नै सकेन।

आफूलाई देशकै नम्बर वान प्रविधि मैत्री हल भन्न रुचाउने क्यूएफएक्सको सिस्टम एउटा फिल्मको सामान्य चापमा ‘ह्याङ’ हुँदा टिकट काट्न खोज्ने दर्शकहरूले निकै सास्ती भोग्नुपरिरहेको छ।

अचम्मको कुरा त के छ भने, देशका अन्य हलहरूको अनलाइन बुकिङ भने कुनै झन्झटविना चलिरहेको छ। तर, देशभर १२ वटा हल र २८ वटा स्क्रिन लिएर बसेको क्यूएफएक्सको सिस्टम भने थुचुक्कै बस्यो।

कतिपय दर्शकको बैंकबाट पैसा काटिए पनि टिकट नपाएको गुनासो छ भने कतिपयले लगइन समेत गर्न सकेका छैनन्।

आफ्नो कमजोरी लुकाउन नसकेपछि क्यूएफएक्सले सामाजिक सञ्जालमा एउटा सूचना निकालेर ‘हाइ ट्राफिक’का कारण प्राविधिक समस्या आएको भन्दै माफी मागेको छ। ‘ट्रान्जेक्सन फेल हुन सक्छ, धैर्य गरिदिनुहोला’ भन्दै उसले स्पष्टीकरण त दिएको छ।

एउटा फिल्मको बुकिङ समेत धान्न नसक्ने यो कस्तो ‘नम्बर वान’ सिनेमा चेन?’ सामाजिक सञ्जालमा दर्शकहरूले व्यङ्ग्य गर्दै भन्न थालेका छन्- ‘नाम ठूलो, दर्शन सानो!’

चैत ५, २०८२ बिहीबार १०:४७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।