‘मालती’ आइन्, ‘मंगले’ गायब : विजय बरालको बेवास्ता कि बाध्यता?
काठमाडौं : कुनै पनि फिल्मको मुटु भनेकै त्यसका मुख्य कलाकार हुन्। तर, फिल्मकै ‘टाइटल क्यारेक्टर’ रिलिज कार्यक्रममा उपस्थित भएनन् भने बाँकी टिमलाई कस्तो पर्ला?
बुधबार दरबारमार्गस्थित राइजिङ मलमा फिल्म ‘मालती मंगले’को पहिलो गीत ‘सुनैको सपनी’ सार्वजनिक हुँदा यस्तै एउटा ‘खल्लो’ दृश्य देखियो। फिल्मको नामै ‘मालती मंगले’ हो। कार्यक्रममा ‘मालती’ अर्थात् वर्षा राउत त मज्जाले देखिइन्, तर ‘मंगले’ अर्थात् विजय बरालको भने पत्तो थिएन।
फिल्मका मुख्य अभिनेता नै कार्यक्रममा नहुँदा उपस्थित सञ्चारकर्मी र पाहुनाहरूबीच कानेखुसी सुरू भयो- ‘कता हराए विजय?’
आयोजकले सुरुमा विजय नआउनुको कारणबारे कुनै जानकारी दिएनन्। जब पत्रकारहरूले प्रश्न तेर्स्याए, तब मात्र कार्यकारी निर्माता सागर ज्ञवालीले मुख खोले।
उनले विजय अर्को फिल्मको सुटिङका लागि पोखरामा व्यस्त भएकाले आउन नसकेको स्पष्टीकरण त दिए, तर यो जवाफले धेरैलाई चित्त बुझाएको देखिएन। कतै निर्माण पक्ष र विजयबीच ‘खटपट’ त सुरु भएको होइन? बजारमा यस्ता आशंकाले ठाउँ पाउन थालेका छन्।
विजय यतिबेला पोखरामा फिल्म ‘जिरो डिग्री’को छायाङ्कनमा व्यस्त छन्। यद्यपि, उनले सामाजिक सञ्जालमा भने गीतको लिङ्क सेयर गर्दै दर्शकसँग प्रतिक्रिया मागिरहेका छन्। तर, फिल्मको पहिलो प्रचारमै ‘फेस’ नदेखिनुले सम्बन्धमा चिसोपन पो हो कि भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।
त्यति मात्र होइन, कार्यक्रममा विजयका अलावा अन्य महत्वपूर्ण कलाकारहरू मेक्सम गौडेल, प्रकाश घिमिरे र सुस्मा निरौला पनि देखिएनन्। कलाकारहरूको यस्तो अनुपस्थितिले फिल्मको प्रमोसनलाई ‘खल्लो’ त बनायो नै, निर्माता र कलाकारबीचको समन्वयमा समेत ठूलो खाडल रहेको प्रष्ट देखियो।
विजय, वर्षा र मेक्समको मुख्य भूमिका रहेको यो फिल्म आगामी बैशाख २५ गतेबाट प्रदर्शनमा आउँदैछ। रानी फिल्म्सको ब्यानरमा बनेको यस फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्।
गायक रामकृष्ण ढकाल र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालको स्वर रहेको गीतले सांगीतिक रूपमा त चर्चा पाउला, तर फिल्मको ‘मालती’ र ‘मंगले’को सम्बन्ध पर्दाबाहिर कस्तो छ भन्ने कुराले आगामी दिनमा थप चर्चा पाउने निश्चित छ।
बैशाख २५ सम्मको यात्रामा विजय प्रमोसनमा जोडिन्छन् कि सुटिङकै बहाना बनाइरहन्छन्? त्यसले नै उनीहरूबीचको ‘वास्तविक सम्बन्ध’को तस्बिर छर्लङ्ग पार्नेछ।
चैत ५, २०८२ बिहीबार १०:१२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।